तुलसीपुर समाचारदाता
तुलसीपुर, चैत २६ गते । सुगम मानिने दाङको तुलसीपुर उपमहानगरपालिकाभित्रै पनि अझै आधारभूत सेवाबाट वञ्चित बस्ती छन् । तीमध्ये वडा नं. १ को अजिमारा–अभिधारा टोलमा हालै मात्र विद्युत् पुगेपछि स्थानीयमा उत्साह छ तर नजिकैका केही बस्ती भने अझै अन्धकारमै छन् ।
अजिमाराका ७० वर्षीय टोपबहादुर न्यौपानेले जीवनभर मटितेलको टुकीको भरमा उज्यालो जोहो गर्नुभयो । विद्युत् नहुँदा मोबाइल चार्ज गर्नसमेत डेढ घण्टा हिँडेर ठाँटीगाउँ पुग्नुपर्ने बाध्यता थियो । १५ दिनअघि गाउँमा बत्ती बल्न थालेपछि उहाँको दैनिक जीवन नै सहज बनेको छ । “अब टुकी बिदा भयो, घरमै उज्यालो छ,” उहाँले खुसी व्यक्त गर्नुभयो ।
वडा नं. १ का वडाध्यक्ष हुमकान्त सापकोटाका अनुसार अजिमारा टोलका १६ घरमा विद्युत्सेवा पुगेको छ । उहाँले बाँकी रहेका गैरासिउरेलगायतका बस्तीमा पनि विद्युतीकरणका लागि पहल भइरहेको जानकारी दिनुभयो ।
नेपाल विद्युत् प्राधिकरण, तुलसीपुर वितरण केन्द्रले ग्रामीण विद्युतीकरण कार्यक्रम अन्तर्गत ठाँटीगाउँदेखि अजिमारासम्म करिब चार किलोमिटर क्षेत्रमा थ्री फेज लाइन विस्तार गरेको हो । केन्द्रका प्रमुख सुरेशकुमार महतोका अनुसार यसका लागि करिब ३३ लाख १० हजार रुपियाँ खर्च गरिएको छ । पहाडी भूगोल र छरिएका बस्तीका कारण सबै क्षेत्रमा एकै पटक सेवा विस्तार गर्न चुनौती रहेको उहाँले बताउनुभयो ।
अजिमारा, अभिधारा र कोलडाँडा बस्तीमा विद्युत् पुगे पनि नजिकैको बाह्रमौजा भने अझै सेवा बाहिरै छ । यहाँका स्थानीयले विद्युत् आउने आशामा दुई हप्ताअघि नै घर घरमा वायरिङ गरिसकेका छन् । तुलसीपुर–१२, बाह्रमौजाका ६० वर्षीय भक्तबहादुर थापाले पोल गाडिए पनि लाइन नजोडिँदा निराशा बढेको बताउनुभयो ।
वडा नं. ३ का वडाध्यक्ष वीरबहादुर विश्वकर्माले विद्युत् प्राधिकरणसँग पटक पटक आग्रह गरे पनि सुनुवाइ नभएको गुनासो गर्नुभयो । “पोल गाडिएको छ, संरचना तयार छ तर लाइन जोडिएको छैन,” उहाँले भन्नुभयो ।