• १२ साउन २०८१, शनिबार

धान रोप्नुअघि बिक्री अनुबन्ध गर्न आह्वान

blog

रङ्गेली समाचारदाता

विराटनगर, फागुन १५ गते । चैते र असारेधान लगाउनुअघि उत्पादन खरिद गर्न मोरङको बेलबारी–९ स्थित आरजु राइस मिल प्रालिले समर्थन मूल्य तोकेर अनुबन्ध हुन आइतबार आह्वान गरेको छ । 

“बजार र मूल्य शृङ्खलामा काम गर्नेस्तरको सहकार्य किसान दाजुभाइसँग हामीले सुरु गरेका हौँ । उत्पादन गरेको धान हामीलाई बिक्री गर्न इच्छुक किसानलाई अनुबन्ध हुन आग्रह गर्दछौँ,” आरजु राइस मिल प्रालिका कार्यकारी निर्देशक वीरेन्द्रबहादुर बस्नेतले मिल परिसरमा आयोजित समर्थन मूल्य घोषणा कार्यक्रममा भन्नुभयो । 

निजीस्तरको उद्योग र किसानबीच अनाज उत्पादनका लागि बेर्ना राख्नुअगावै समर्थन मूल्य घोषणा गर्ने कार्यक्रममा प्रदेश १ का कृषि तथा सहकारीमन्त्री भक्ति सिटौला, सो मन्त्रालयका सचिव मेघनाथ तिम्सिना, नार्कका प्रमुख डा. रामवरण यादव, बेलबारी नगरपालिकाका प्रमुख डीपी राईसहित कार्यक्रममा सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी कार्यक्रम उपस्थित हुनुहुन्थ्यो । 

आरजु राइस मिलले रामधान लगाउन किसानलाई आग्रह गर्दै असारे बालीको प्रतिक्विन्टल दुई हजार दुई सय र मङ्सिरमा तीन हजार दुई सयमा खरिद गर्ने घोषणा गरेको हो । गत मङ्सिरमा प्रतिक्विन्टल तीन हजार रुपियाँका दरले एक हजार दुई सय टन धान खरिद गरेको मिलले आगामी वर्ष एक हजार तीन सय क्विन्टल धान खरिद गर्ने घोषणा गरेको छ । 

मिलका कार्यकारी निर्देशक बस्नेतका अनुसार आठ सय बिघा क्षेत्रफलमा लगाएको धान खरिद गरेर भण्डारण गरिएको छ । त्यसको प्रशोधन गरेर अब एक महिनापछि बजारमा पठाउन सुरु गरिनेछ । 

आगामी वर्ष चार हजार बिघामा उत्पादन भएको धान खरिद गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो । झापा, मोरङ र सुनसरीका किसानले रामधान उत्पादन गरेर मिललाई जानकारी गराएअनुसार असारको प्रतिक्विन्टल दुई हजार दुई सय र मङ्सिरको तीन हजार दुई सय मूल्यमा खरिद गर्ने घोषणा गरिएको हो । 

दुईवटा मिलमा लगानी गर्ने योजना

चार वर्षअघि ५० करोड रुपियाँ लागतमा २१ हजार टन क्षमताको मिल बेलबारी–९ मा स्थापना गरेको नेपाल कृषि केयरले आगामी मङ्सिरपछि ५०/५० हजार टन क्षमताका थप दुई मिलमा लगानी गर्ने भएको छ । 

आरजु राइस मिल प्रालिका कार्यकारी निर्देशक बस्नेतले झापा, मोरङ र सुनसरीमै अब दुईवटा मिल विस्तार गर्ने योजना राखेर अध्ययन सुरु गरिएको जानकारी दिनुभयो । मङ्सिरसम्म अध्ययन गरेर त्यसपछि मिल स्थापनाको काम थालिने भएको हो । 

रामधान प्राथमिकतामा 

मिलले धानको समर्थन मूल्य तोक्न मोरङ, सुनसरी र झापाका किसानको भेला आइतबार गरेको थियो । त्यस अवसरमा अन्य धानमा भन्दा रामधानलाई मात्रै प्राथमिकतामा राखिनुलाई किसानले चासोका रूपमा लिएका थिए । 

गत वर्ष पहिलो पटक रामधान रोपेका किसानको अनुभवमा यसको खाना नरम र लयालु हुने गरेको दाबी छ । बेलबारी–९ का किसान राजकुमार दङ्गालले रञ्जितधानभन्दा रामधान बढी फल्ने र नरम रहेको बताउनुभयो । 

रामधान प्रतिकट्ठा छ मनसम्म उत्पादन हुने दाबी अर्का किसान गोविन्द न्यौपानेको भनाइ छ । न्यौपानेले गत वर्ष दुई बिघा क्षेत्रफलमा यही धान लगाउनुभएको थियो । साउन २ गते एक बिघा क्षेत्रफलमा रोपेको धान एक सय मन र साउन ५ गते अर्को एक बिघा क्षेत्रफलमा लगाएको धान १२६ मन उत्पादन भएको उहाँले जानकारी दिनुभयो । प्रदेश १ मा रहेका तराईका तीन जिल्लामा भर्खरै प्रचलनमा आएको रामधानलाई मात्रै मिलले प्राथमिकतामा राखेको छ । मोरङमा उत्पादन भएको चामलको बजार भने काठमाडौँ केन्द्रित रहेको छ । लङग्रेन प्रजातिको धानको चामल खानका लागि मीठोसँगै ४० केजी धानबाट २७ केजीसम्म चामल आउँछ ।