• ६ जेठ २०८१, आइतबार

गाईघाट–कुइने जोड्ने झोलुङ्गे पुल उद्घाटन

blog

भेरीगंगा नगरपालिका १३ गाईघाट र लेकवेशी नगरपालिका ७ कुइने जोड्ने भेरी नदी झोलुङ्गे पुल। तस्बिर : नवीन शाही

नवीन शाही

सुर्खेत, फागुन ९ गते। सुर्खेतको भेरीगंगा नगरपालिका १३ गाईघाट र लेकवेशी नगरपालिका ७ कुइनेलाई जोड्ने भेरी नदी झोलुङ्गे पुलको औपचारिक उद्घाटन गरिएको छ। सहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्यले मंगलबार पुलको उद्घाटन गर्नुभएको हो। 

दैनिक उपभोग्य सामान किनमेल गर्नसमेत सहज भएको स्थानीयको भनाइ छ। यहाँका बालबालिकालाई पनि माध्यमिक शिक्षाका लागि विद्यालय पुग्न सहज हुने विश्वास लिएको स्थानीय मानबहादुर बुढाले बताउनुभयो। 

भेरी पारीबाट घाँस दाउरा लगायतका काम गर्न पनि सहज भएको स्थानीय डिल्ली विकले बताउनुभयो। लेकवेसी नगरपालिकाका मात्रै करिब पाँच सय घरधुरी लाभान्वित भएका छन्। भने भेरीगंगाका दुई र लेकवेसीका तीन गरी पाँच गाउँ लाभान्वित भएका छन्। पुल नहुँदा ट्युबबाट वारपार गर्नुपर्ने भएकोले मानवीय क्षतिसमेत हुनेगरेकोमा अब सहज हुने स्थानीयको भनाइ छ। 

सहरी विकास मन्त्रालय अन्तर्गत स्थानीय पूर्वाधार विभागको स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय सुर्खेतले उक्त पुल निर्माण गरेको हो।

‘डी टाइप’ मा निर्माण गरिएको उक्त पुल एक सय ८० मिटर लम्बाइको छ। यसका लागि एक करोड ५८ लाख ६१ हजार सात सय ४९ रुपियाँ लागत अनुमान गरिएकोमा ९० लाख ४० हजारमा पुल निर्माण सम्पन्न भएको कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर पुण्यराम सुलुले जानकारी दिए। 

२०७९ साल भदौ ६ गते पुल निर्माणको सम्झौता गरेको हिमशिखर कन्स्ट्रक्सन सेवाले २०८० साल फागुन ५ गते सम्पन्न गर्नुपर्ने थियो। तर, निर्माण सम्पन्न हुने मिति अगावै करिब ६ महिनाभित्रै पुल निर्माण भएको हो। 

विभागका निर्देशक ईश्वरचन्द्र मरट्ठाले मंगलबारसम्मको प्राप्त विवरण अनुसार देशभर नौ हजार आठ सय पचास ओटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएर सञ्चालनमा रहेको बताउनुभयो। चालु आर्थिक वर्षको केही महिनाभित्रै १० हजार पुल निर्माण हुने तयारीमा रहेको जानकारी दिनुभयो। उहाँले अबको तीन वर्षमा तीन हजार पुल निर्माण गर्ने सरकारको लक्ष्य रहेको बताउनुभयो। 

यस्तै, भेरीगंगा नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालले पुल निर्माणले जनजीवनमा सहज भएको बताउनुभयो। उहाँले भेरीगंगा नगरपालिका क्षेत्रभित्र करिब २० वटा पुल निर्माणका लागि विभागसँग माग गरिएको जानकारी दिनुभयो।