• १२ साउन २०८१, शनिबार

प्रधानमन्त्री प्रचण्ड, अध्यक्ष ओली र सभामुख घिमिरेबिच छलफल

सदन सञ्चालनका लागि सभामुखका तीन सन्देश

blog

सभामुख देवराज घिमिरे । फाइल तस्बिर

काठमाडौं, जेठ ५ गते। सभामुख देवराज घिमिरेले प्रधानमन्त्री र सत्ताको प्रमुख घटक नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग सदन सञ्चालनको विषयमा छलफल गर्नुभएको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा सभामुख घिमिरेले प्रमुख विपक्षी दलसँग बसेर सहमति गर्न अनुरोध गर्नुभएको छ। छलफलमा सभामुख घिमिरेले भन्नुभयो, ‘‘म निर्बाध र सौहार्दपूर्ण ढङ्गबाट संसद् सञ्चालन होस् भन्ने चाहन्छु। जति बल गरेर संसद् चलाए पनि एक क्षणमा त सहमति गर्नैपर्छ। पछि होइन, अहिल्यै सहमति गर्नुहोस्।’’ सभामुखका प्रेस संयोजक शेखर अधिकारीका अनुसार सभामुखले आइतबार बिहान ११ बजे अघि नै सहमति गर्न अनुरोध गर्नुभएको छ।

सभामुख घिमिरेले नीति तथा कार्यक्रम पास गर्ने, प्रधानमन्त्रीले विश्वासको मत लिने र बजेट प्रस्तुत गर्दा विरोध हुँदा राम्रो सन्देश नजाने भन्दै सहमतिका लागि प्रयास गर्न भन्नुभएको छ। 

सभामुख घिमिरेले प्रधानमन्त्री र अध्यक्ष ओलीसँगको भेटमा सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा आएजस्तो अध्यादेशबाट बजेट ल्याउने परिकल्पना संविधान नगरेको प्रष्ट पार्नुभएको छ। 

उक्त भेटमा प्रधानमन्त्री प्रचण्डले काँग्रेससँग बसेर सहमति गर्ने बताउनुभएको छ। उहाँले शनिबार साँझ गृहमन्त्रीसहित सत्ता पक्षको बैठक बसेर सदन खोल्न पहल गर्ने प्रष्ट पार्नुभएको हो। अहिले बालुवाटारमा प्रधानमन्त्रीले सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलका नेतासँग छलफल गरिरहनुभएको छ।