नवीन सुवेदी
सुर्खेत, जेठ ५ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले कर्णालीमा अथाह सम्भावना भएको प्रदेशका रूपमा आफूले चिन्ने गरेको बताउनुभएको छ । शनिबार वीरेन्द्रनगर सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै उहाँले कर्णालीको जडीबुटी, बहुमूल्य ढुङ्गाहरू बेचेर नै धनी हुने सम्भावना रहेको बताउनुभएको हो ।
त्यसका लागि सबैले सकारात्मक कुराहरूमा धेरै ध्यान दिनुपर्ने बताउनुभयो । कर्णालीबारे सधैँ नकारात्मक कुराहरू मात्र प्रचारमा आउने गरेको भन्दै उहाँले सञ्चारकर्मीहरूले पनि सकारात्मक र सम्भावनाका कुराहरूलाई प्रचारमा ल्याउनुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति समेत रहनुभएका अर्यालले कर्णाली बुझ्ने अवसर पाएको भन्दै कालिकोटको रास्कोटमा २५ बेटको अस्पताल बनाएको उल्लेख गर्नुभयोे । त्यहाँ अहिले सबै दिन सोलारबाट सेवा प्रदान गर्ने गरी व्यवस्थापन भएको बताउनुभयो । मन्त्री अर्यालले कार्यभार सम्हालेपछि हरेक दिनलाई केहि न केहि काम गर्नुपर्छ भनेर लागिरहेको बताउनुभयो ।
यस्तै, उहाँले पार्टी सभापतिमाथि उठेको आरोप निराधार रहेको बताउनुभयो । उहाँले भन्नुभयोे, ‘‘चार पाँच जनाले रजाईं गरेको ठाउँमा नयाँ मान्छे आएपछि अनेक प्रश्न उठाइन्छ । अहिले त्यही भइरहेको हो । आफूले रजाईं गरिरहेकाहरूलाई हामी आएका प्रति मन परेको छैन । आफूहरू रूपान्तरणका लागि आएको तर अनेक तरिकाले हिलो छ्याप्ने काम भइरहेको छ ।’’