• १३ साउन २०८१, आइतबार

चर्को घामबाट कसरी बच्ने ? यस्तो छ चिकित्सकको सुझाव

blog

काठमाडौं, जेठ ५ गते। तापक्रम बढेसँगै सामान्यदेखि जटिल स्वास्थ्य समस्या देखिने हुँदा सचेत रहन चिकित्सकको सुझाव छ।  

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. समीरकुमार अधिकारीले तापक्रम बढेसँगै किटजन्य, पानीजन्य रोग र खाद्यजन्य रोगको जोखिम बढी हुने हुँदा सचेत रहन आग्रह गर्नुभयो। 

चर्को घामले सामान्यदेखि जटिल स्वास्थ्य समस्या निम्तने भन्दै डा. अधिकारीले यस्तो आग्रह गर्नुभएको हो। 

उहाँका अनुसार तापक्रम बढेसँगै डेंगु, मलेरिया, कालाजार, झाडापखाला, तातो हावा ‘लु’ जस्ता स्वास्थ्य समस्या निम्तने गर्दछन्। यस्तो समस्याबाट बालबालिका, वृद्धवृद्धा, दीर्घरोगी बढी प्रभावित हुने हुँदा विशेष ख्याल गर्नुपर्ने उहाँको भनाइ छ। 

डा. अधिकारीका अनुसार तापक्रम बढ्दा थकाई लाग्ने, कमजोरी हुने, तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्र आउने, बेहोस हुने, मांसपेशी दुख्ने, वान्ता हुने, झाडापखाला लाग्ने जस्ता स्वास्थ्य समस्या देखिने गर्दछन्।  

गर्मीबाट बच्न खेत बाहिर वा खेतबारीमा काम गर्दा बिहान वा बेलुका गर्न उहाँले सुझाव दिनुभएको छ। सकेसम्म दिउँसो घरबाट बाहिर ननिस्कने, निस्कनै परे चिसो पानीले नुहाएर, छाता ओढ्ने, पातलो कपडा टाउकोमा राख्ने, पुरा शरीर छोप्ने हल्का सुतीको लुगा लगाएर मात्र निस्कनु राम्रो हुने उहाँको भनाइ छ। 

क्याफिनले स्वास्थ्यमा असर पुर्‍याउने हुँदा चिया, कफी, सोडा, चिनीको मात्रा बढी भएका पेय पदार्थ नपिउन उहाँले अनुरोध गर्नुभयो। 

यस्तो समस्याबाट बच्न प्रशस्त पानी पिउन चिकित्सकको सुझाव छ। गर्मीबाट बच्न बेलबेला कागती पानी, नरिवलको पानी तथा फलफूलको रस पिउन डा. अधिकारीले आग्रह गर्नुभयो। 

उहाँ भन्नुहुन्छ, ‘यस्ता समस्याबाट बच्न घरमा नै बनाएको ताजा खानेकुरा खाने, जहाँ पायो त्यही खानेकुरा नखाने, सफा पानी पिउने, धूम्रपान तथा मदिरा सेवन गर्नुहुँदैन।’’

अत्यधिक तापक्रमले मुटुको चाल तीव्र भएमा, श्वासप्रश्वासमा समस्या भएमा, रक्तचाप कम भएमा, शरीरबाट पसिना नआएमा, टाउको अत्यधिक दुखेमा, चक्कर लागेमा, ज्वरो आएमा बिरामीलाई तुरुन्त अस्पतालमा लैजान उहाँको सुझाव छ।