• १३ असोज २०८१, आइतबार

योजना माग्न तातोपानीमा बाल भेला

blog

बालबालिका केन्द्रित योजना राख्न आयोजना गरिएको बालभेलाका सहभागीहरु तस्बिरः प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा
कालीकोट, जेठ ५ गते । 
आगामी योजनामा आफ्ना सवाल समेट्न दबाब दिन जुम्ला जिल्लाको तातोपानीमा बालबालिका भेला भएका छन् । आर्थिक वर्ष २०८१/०८२ का लागि योजना छनोट गरी र गाउँपालिका सरकारलाई दिनका लागि तातोपानीमा बालबालिका भेला भएका हुन् ।

तातोपानी गाउँपालिकाले पनि सबैको सहभागिताबाट योजनाको माग हुँदा त्यसको प्रभाकारिता राम्रो हुने भन्दै बालभेलाको आयोजना गरेर सबैको बिचारबाट आएका योजनालाई प्राथमिकरण गर्ने भएको हो ।

तातोपानी गाउँपालिका योजना शाखा प्रमुख ओमबहादुर चन्दले बस्ती स्तरको योजना छनोट प्रक्रिया सकिएको र बालबालिका केन्द्रित सवाल छुटेको हुन सक्ने भन्दै साझेदारहरूको सहयोगमा भेलाको आयोजना गरेको बताउनुभयो ।

उहाँले छुट्टाछुट्टै योजना हाम्रो थियो भनेर गाउँपालिका पुग्नुपर्ने बाध्यताको अन्त्यका लागि यसै भेलाबाट बालबालिका केन्द्रित योजना छनोट होस भनेर भेला राखिएकाले योजनालाई प्राथमिकरण दिन सुझाव दिनुभयो । पालिका स्तरको योजना तर्जुमा तथा समग्र बालबालिका केन्द्रित विषयबारे छलफल गर्न आयोजना गरिएको बालभेलाका लागि सेभ द चिल्डे्न, वल्डभिजन, किर्डाक नेपालको सहयात्रा परियोजना र गाउँपालिकाको महिला तथा बालबालिका शाखाले सहयोग गरेको छ ।

तातोपानी गाउँपालिका वडा नं २ का वडा अध्यक्ष चन्दमान बुढाले मुलुक सञ्चालनका उत्तराधिकारी सक्षम नागरिक उत्पादनको सुरुवात बालबालिकाबाट हुने भन्दै आफ्ना विषयलाई सरकार समक्ष राम्रोसँग राख्न अपिल गर्नुभयो । उहाँले बालबालिका केन्द्रित बजेट विनियोजन गर्नका लागि पनि यो भेलाले सहयोग गर्ने भन्नुहुँदै जिल्लाको मात्र नभएर मुलुकै सक्षम बालबालिकाको सन्देश दिन तातोपानीका बालबालिका जागरूक हुनुपर्ने धारणा राख्नुभयो ।

यसैगरी, महिला तथा बालबालिका शाखा प्रमुख शान्ति भग्रीले बालअधिकार महासंन्धी १९८९ देखि नेपालको संविधानले दिएका अधिकारका बारेमा जानकार भएर आफ्नो अधिकारका लागि बोल्ने क्षमताको विकास गराउन महिला तथा बालबालिका शाखा तयार रहेको बताउनुभयो । उहाँले बालबालिकालाई आफ्ना कुरा राख्ने अधिकार भएकाले यो भेलामा सबैको सहयोग रहेको सुनाउनुभयो ।

बालबालिकाको क्षेत्रमा काम गर्दै आएको किर्डाक नेपालको सहयात्रा परियोजनाका बालअधिकार बालसंरक्षण संयोजक प्रकाश शाहीले जोखिम बालबालिका केन्द्रित कार्यक्रमका लागि आफूहरू साथमा रहेको जानकारी दिनुभयो । भेलामा बालअधिकारकर्मी प्रमीला बुढा, जानकी सिंह लगायतको सहभागिता रहेको थियो । बाल अभियान्ता राजु नेपालीको अध्यक्षतामा सम्पन्न भएको बालभेला होटल रिभर साइटमा सञ्चालन भएको आयोजना तातोपानी गाउँपालिकाले जनाएको छ ।