ललित बसेल
सुर्खेत, वैशाख ९ गते । गत चैतको अन्तिम दिन ७० वर्षीय मानकुमारी सार्की पिठ्युँमा गाग्री बोकेर घरनजिकैको भेरी नदीमा पानी ल्याउन जाँदै हुनुहुन्थ्यो । बिहान एक गाग्री ल्याएर सकिएपछि फेरि अर्को गाग्री पानी लिन उहाँ भेरी जानुभएको हो । नजिकैका एक पुरुषले पनि हातमा गाग्री बोकेर भेरीबाट पानी ल्याउनुभएको थियो ।
वीरेन्द्रनगर नगरपालिका–२ को रानीघाटबाट भेरी नदी बगिरहेको छ । यहाँ करिब एक दर्जन स्थानीयका घर छन् । उनीहरू सबैको पानीको स्रोत त्यही भेरी नदी हो । हिउँदमा भेरीको पानी सङ्लो हुने भए पनि बर्खामा धमिलो हुन्छ । अन्य विकल्प नहुँदा भेरीकै त्यही धमिलो पानी खानुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् । मानकुमारीले जस्तो भए पनि भेरीकै पानी खाइरहेको बताउनुभयो । उहाँले अरू बेला भेरीको पानी सङ्लो भएकाले खान सजिलो हुने तर बर्खामा भने धमिलो हुँदा खान नसकिने जनाउनुभयो । तर पनि त्यही धमिलो पानी खानुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।
वीरेन्द्रनगरदेखि करिब सात किलोमिटर टाढाको दुरीमा सो स्थान पर्छ । वीरेन्द्रनगर नगरपालिका कर्णाली प्रदेशको राजधानी नगरपालिका र उपमहानगरपालिकाउन्मुख रहेको बेला यहीँका बासिन्दा अझै पनि भेरी नदीकै पानी खानुपर्ने अवस्था हुनु दुःखद रहेको अर्का स्थानीय लीलाराम विकले बताउनुभयो । भेरीकै पानी नखाए कहाँको खाने भन्दै उहाँले सफा र स्वच्छ खानेपानीका योजना सो ठाउँमा नभएको उल्लेख गर्नुभयो ।
नगरपालिकाभित्रै परे पनि उक्त बस्ती ओझेलमा परेको छ । घर थोरै भएकाले त्यहाँ कसैको नजर गएको छैन । त्यहाँका बासिन्दाको प्रमुख आयस्रोत भनेको भेरीको बालुवा निकाल्ने हो । एक टिप बालुवाको एक हजार मूल्य पर्छ । दिनभर बालुवा निकालेर बेचेर आएको पैसाले खानेकुरा खाने गरेको विकले बताउनुभयो । तर पनि नजिकै मेसिनले बालुवा निकालिदिएपछि उनीहरूको रोजीरोटी गुम्ने खतरा बढ्दै गएको छ । रानीघाटमा भएको झोलुङ्गे पुल २०७१ सालको बाढीले बगाएपछि भेरी वारपार गर्न कठिन छ । बर्दियाको भुरीगाउँ जोड्ने पक्की पुलको काम पनि १२ वर्षदेखि अलपत्र छ । पुलको आधा पिल्लर बनेको छ । सडकको अवस्था पनि दयनीय छ । पुल, सडक, खानेपानी योजना नेताले चुनावको बेला मात्र ल्याउने, अरू बेला अनुहार नदेखाउने भन्दै विकले आक्रोश पोख्नुभयो ।
यता वीरेन्द्रनगर नगरपालिका–२ का वडाध्यक्ष गजबहादुर बुढाले रानीघाटमा बस्ती थोरै भएपछि अरू आयोजना त्यहाँ नभएको बताउनुभयो । सो स्थानभन्दा केही माथि भने समथर ठाउँमा बस्ती स्थानान्तरण गरी सात वटा घर बनाइदिए पनि शौचालय नबन्दा स्थानान्तरण गर्न नसकिएको जानकारी उहाँले दिनुभयो । अहिले ती घरको छाना हावाहुरीले उडाइदिएको भन्दै उहाँले पुनर्निर्माण गरी शौचालय बनाएपछि त्यहाँको बस्तीसारिने जानकारी दिनुभयो । सडक निर्माणको काम पनि भइरहेकाले अब केही चहलपहल हुने उहाँको भनाइ छ । साथै अलपत्र अवस्थाको भेरीको पुल जतिसक्यो छिटो निर्माण भई भुरीगाउँ–तेलपानी सडक सञ्चालन हुन सके उक्त स्थानको विकास हुने वडाध्यक्ष बुढाले बताउनुभयो ।