• ९ वैशाख २०८२, मङ्गलबार

प्रशासन कार्यालयमा सहज सेवाका लागि टोकन

blog

जिल्ला प्रशासन कार्यालय बाँकेमा राष्ट्रिय परिचयपत्र बनाउनेहरुको भिड । तस्बिरः गोविन्द शर्मा

गोविन्द शर्मा

बाँके, बैशाख ९ गते । सेवाग्राहीलाई सहज र सेवा छिटो उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय बाँकेमा विद्युतीय टोकन प्रणाली सुरु गरिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले सेवाग्राहीको बढी चाप हुने शाखामा टोकन प्रणालीको सुरुवात गरिएको जानकारी दिनुभयो । 

प्रमुख जिल्ला अधिकारी जोशीले भन्नुभयो, ‘छिटो आउने सेवाग्राहीको छिटो काम होस र कुनै पनि खाले भेदभाव नहोस भनेर टोकन प्रणालीको सुरुवात भएको छ ।’ जिल्ला प्रशासनमा आइतबार टोकन प्रणाली जडान गरिएको भए पनि यसको पूर्ण कार्यान्वयनमा आउन केही दिन लाग्ने प्रशासनले जनाएको छ । प्रशासनबाट प्रवाह गरिने सेवालाई सेवाग्राहीमैत्री, सहज र प्रभावकारी बनाउन, सेवा प्रवाहमार्फत सुशासन प्रवाह गर्न टोकन प्रणालीले योगदान दिने जिल्ला प्रशासनको अपेक्षा छ ।

जिल्ला प्रशासनमा सबैभन्दा बढी सेवाग्राहीको चाप हुने नागरिकता र प्रतिलिपी शाखा, राहदानी शाखा र राष्ट्रिय परिचयपत्र शाखामा टोकन प्रणाली जडान गरिएको छ । सेवाग्राहीले टोकन लिएर सहजै सेवा सुविधा प्राप्त गर्ने भएकाले बिगतमा भन्दा थप सहजता हुने प्रमुख जिल्ला अधिकारी जोशीको भनाइ छ । 

पछिल्लो समय सेवाग्राहीको बढी चाप हुने गरेको राष्ट्रिय परिचयपत्र बनाउने कामका लागि सेवाग्राहीको असहजतालाई मध्यनजर गर्दै सम्पूर्ण सेवा एउटै भवनबाट सुरु गरिएको प्रशासनका पदाधिकारीको भनाइ छ । सेवाग्राहीले राष्ट्रिय परिचयपत्र बनाउने काममा सहजताका लागि कर्मचारीको थप ब्यवस्था गर्नुपर्ने माग गरेका छन् । टोकन प्रणाली जडानका लागि गृह मन्त्रालयले बजेट उपलब्ध गराएर कार्यान्वयनका लागि निर्देशन दिएको थियो ।