• १३ असोज २०८१, आइतबार

जेसीज ५६ शाखाको संयुक्त भेला

blog

नेपाल जेसीज भेलामा सहभागी मन्त्री दुर्गबहादुर रावतसहित सहभागीहरू । तस्बिर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालीकोट, जेठ ५ गते । युवा नेतृत्व विकासका लागि साझा संस्थाका रूपमा स्थापित जेसिज नेपालका देशभरिका युवा नेताहरू कालीकोटमा भेला भएका छन् ।

क्षेत्रगत अध्यक्षको बैठक नाम दिएको भेलामा जेसिजका राष्ट्रिय अध्यक्षदेखि नेपाल जेसीज क्षेत्र (घ) भित्रका ५६ शाखाका अध्यक्ष र पदाधिकारीको सहभागिता रहेको छ । 

देशैभर १७८ वटा शाखा रहेको जेसीजको कालीकोट बैठकमा ५६ शाखाका अध्यक्षको भेलामा सहभागिता रहेको छ । कर्णालीमा यत्तिको संख्यामा भेला भएको पहिलो पटक भएको जेसिज पदाधिकारीहरुको भनाइ छ । भेलालाई सम्बोधन गर्दै कर्णाली प्रदेश सरकार उघोग पर्यटन, वन तथा वातावरण मन्त्री दुर्गबहादुर रावतले राज्यको बिनालगानीमा युवाहरू आफैँ जागेर समूहमा युवालाई सङ्गठित गरेको पाउँदा खुसी लागेको बताउनुभयो । 

मन्त्री रावतले केही गर्नका लागि सरकार र अरूको भर पर्नु हुँदैन भन्ने उदाहरण नेपाल जेसीजले दिएको बताउनुभयो । बिना लगानीमा युवाहरूको नेतृत्व विकास क्षमतामा लगानी गरेकोप्रति नेपाल जेसीजलाई उहाँले धन्यावाद दिनुभयो । 

जेसिजले १८ देखि ४० वर्ष सम्मका युवाहरूको नेतृत्व क्षमताको विकास गर्ने विश्वव्यापी संस्थाका रूपमा स्थापित छ । नेपाल जेसीज कालीकोट शाखाका संस्थापक अध्यक्ष अनिलबहादुर शाहीले जन्मिँदै कोही पनि सक्षम वा असक्षम हुदैनन, प्रत्येक मानिसभित्र प्रतिभा हुन्छ भन्नुभयो ।

भेलामा सहभागी नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष रबिन पोख्रेलले जेसीजले आफ्ना सदस्यलाई उपयुक्त अवसरहरू उपलब्ध गराएर उहाँहरूमा रहेको अन्तर्निहित प्रतिभालाई प्रस्फुटन गर्दै व्यक्तित्व विकास गर्ने काम गरेको बताउनुभयो । 

कालीकोट शाखाका अध्यक्ष हरिप्रसाद पाण्डेले भेलामा राष्ट्रिय उपाध्यक्षहरू सन्दी अग्रहरी, सिता भण्डारी, गणेश सापकोटा, राजन शर्मा, नमराज उपाध्याय लगायतका जेसीजकर्मीको सहभागिता रहेको जानकारी दिनुभयो ।