ललित बसेल
सुर्खेत, जेठ ५ गते । पर्याप्त खाद्यान्न उत्पादन नहुँदा बर्सेनि खाद्य सङ्कट भोग्ने कर्णाली प्रदेशले झन्डै दुई अर्ब रुपियाँको कृषि उपज निकासी गर्न सफल भएको छ । चालु आर्थिक वर्षमा प्रदेशका विभिन्न जिल्लामा उत्पादन भएका एक अर्ब ९६ करोड सात लाख ५७ हजार मूल्य बराबरका ४७ हजार १२४ मेट्रिक टन विभिन्न कृषि उपज अन्य जिल्ला तथा विदेशमा निकासी भएका छन् ।
कृषि विकास निर्देशनालय सुर्खेतका अनुसार सुर्खेतसहित नेपालगन्ज, चितवन, बुटवल, काठमाडौँका साथै भारत र जर्मनीमा कर्णालीको कृषि उपज निकासी भएका छन् । निकासी हुनेमा सबैभन्दा बढी अदुवा रहेको छ । ६६ करोड ७४ लाख ६३ हजारको १३ हजार ७५२ मेट्रिक टन अदुवा निकासी भएको छ । यस्तै ५० करोड ७५ लाख ९५ हजार मूल्य बराबरको १० हजार ४५१ मेट्रिक टन स्याउ निकासी भएको निर्देशनालयका कृषि प्रसार अधिकृत तिलक पाण्डेले जानकारी दिनुभयो । यसै गरी २६ करोड ४१ लाख २० हजार मूल्य बराबरको सात हजार १२९ मेट्रिक टन तरकारी, २० करोड २० लाख मूल्य बराबरको सात हजार २५० मेट्रिक टन सुन्तला, ११ करोड ९५ लाख ७० हजार मूल्यको तीन हजार ३१० मेट्रिक टन बर्खे आलु निकासी भएको छ । निर्देशनालयका अनुसार पाँच करोड ४२ लाख ८९ हजार मूल्यको मकै, मर्सी, कोदो, चिनो, फापर जस्ता खाद्यान्न, तीन करोड १९ लाख मूल्यको मह, तीन करोड ८८ लाखको तरकारीको बिउ, तीन करोड ९१ लाख मूल्यको बेसार, तीन करोड ५८ लाख बराबरको सिमी कर्णालीबाट निकासी भएको निर्देशनालयका कृषि प्रसार अधिकृत पाण्डेले बताउनुभयो ।
अघिल्लो आवको तुलनामा यस वर्ष कर्णालीमा कृषि उपजको उत्पादन र निकासीमा उल्लेख्य वृद्धि भएको निर्देशनालयले जनाएको छ । अघिल्लो वर्ष एक अर्ब ७८ करोड २१ लाख २५ हजार मूल्यको कृषि उपज निकासी भएको थियो । कर्णालीमा जम्मा क्षेत्रफल २५ लाख २५ हजार २७५ हेक्टरको ११ प्रतिशत अर्थात् दुई लाख ९९ हजार ३३९ हेक्टर मात्रै खेतीयोग्य जमिन छ । जम्मा खेतीयोग्य जमिनमध्ये ७२.४५ प्रतिशत जमिनमा मात्र खेती गरिएको कृषि निर्देशनालयको तथ्याङ्क छ ।
खेतीयोग्य जमिनमध्ये ३९ हजार ६११ हेक्टरमा वर्षभरि र ३३ हजार ६०२ हेक्टरमा आंशिक गरी ७३ हजार २१३ हेक्टरमा मात्रै सिँचाइ सुविधा छ । जुन खेतीयोग्य जमिनको ३३.७६ प्रतिशत मात्रै हो । चालु आवमा अघिल्लो वर्षको भन्दा एक हजार २७८ हेक्टर वर्षभरि सिँचाइ हुने र तीन हजार ६०० हेक्टर जमिनमा आंशिक सिँचाइको सुविधा विस्तार भएको कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायले बताउनुभयो ।
कृषकलाई कृषिमा आकर्षित गराउन कृषि यान्त्रिकीकरण कार्यक्रम, गरिबी तथा विपन्न लक्षित वर्ग विशेष कार्यक्रम, प्राङ्गारिक कृषि प्रवर्धन रैथाने बाली कार्यक्रम, कृषि व्यवसाय प्रवर्धनलगायतका विभिन्न कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाइ छ । यस्तै रैथाने बाली तथा अर्गानिक उत्पादन बढाउन अर्गानिक पालिका घोषणा गरी सोही अनुसारका कृषि उपज उत्पादनका काम भइरहेको उहाँले दाबी गर्नुभयो ।