• १२ साउन २०८१, शनिबार

चार दिनपछि यातायात बन्द फिर्ता

blog

बुधबारदेखि अनिश्चितकालीन यातायात बन्द हुँदा सुनसान बनेको मेची राजमार्ग। तस्बिर : चन्द्र पन्दाक।

चन्द्र पन्दाक

ताप्लेजुङ, जेठ ५ गते। ताप्लेजुङमा निर्माण हुन लागेको पाथीभरा केबलकार परियोजनाविरुद्ध सङ्घर्षरत समूहले आह्वान गरेको यातायात बन्द चार दिनपछि फिर्ता लिएको छ। 

जिल्लास्थित राजनीतिक दल, स्थानीय प्रशासन र सङ्घर्षरत पक्षका प्रतिनिधिबिच शनिबार भएको छलफलमा तत्काललाई यातायात बन्द फिर्ता लिने सहमति भएको हो।

केबलकार निर्माण कम्पनीले विगतमा भएका सम्पूर्ण सहमतिको कार्यान्वयन गर्ने लगायतका विषयमा सकारात्मक निर्णय भएपछि सङ्घर्षरत पक्ष यातायात बन्द फिर्ता लिन सहमत भएको हो। सर्वपक्षीय बैठकमा  केबलकार कम्पनीले स्थानीय सरोकारवाला पक्ष राजनीतिक दलसँग आपसी समन्वय, परामर्श र सहमतिबिना निर्माणको काम नगर्न अनुरोध गर्ने निर्णय पनि भएको छ।

पाथीभरा (मुक्कुमलुङ) मा केबलकार निर्माण हुने भएपछि मुक्कुमलुङ संयुक्त सङ्घर्ष समिति, पाथीभरा केबलकार खारेजी संयुक्त सङ्घर्ष समिति लगायतका समूहले सुरुदेखि नै विरोध गरिहेको छ। पछिल्लो समय केबलकार कम्पनीले निर्माणस्थलमा रुख कटान गरेपछि सङ्घर्षरत समूहले आफ्नो माग विपरीत परियोजनाको क्रियाकलाप सुरु भएकोभन्दै गएको बुधबारदेखि यातायात बन्द आह्वान गरेको थियो।

मेची राजमार्ग, तमोर कोरिडोर र ताप्लेजुङमा सो समूहले यातायात बन्द आह्वान गरेको थियो। बन्दपछि मेची राजमार्ग र तमोर कोरिडोरमा सञ्चालन हुने लामो तथा छोटो दूरीमा चल्न सवारी साधन ठप्प हुँदा यात्रु मारमा परेका थिए। यातायात बन्दले बिहीबारदेखि सुरु भएको पाँच दिने ताप्लेजुङ पर्यटन महोत्सवलाईसमेत असर पुगेको थियो।