• ७ मंसिर २०८१, शुक्रबार

कृषक अघिअघि, अनुसन्धान पछिपछि

blog

कविराज घिमिरे 

धनकुटा, फागुन ८ गते । एभोकाडोको व्यावसायिक खेती सुरु भएको करिब एक दशक बितेको छ । २०२८ सालमा ‘कृषि अनुसन्धान केन्द्र, पाख्रिबास’ स्थापना गर्न अध्ययनका लागि आएको बेलायती टोलीले लिएर आएको एभोकाडो धनकुटा हुँदै नेपालका अन्य जिल्लामा पनि भित्रिएको हो ।

लामो समयसम्म यसको व्यावसायिक खेती हुन सकेन । धनकुटालगायत केही पहाडी जिल्लामा एक दशकयता भने यसको व्यावसायिक खेती हुँदै आएको छ । खेती बढ्दै जाँदा विभिन्न रोग, कीराको समेत समस्या देखिन थालेको छ । तर यस विषयमा सरकारी निकायबाट कुनै अध्ययन र अनुसन्धान भएको पाइँदैन । 

सरकारको आधिकारिक निकायले अनुसन्धान गरेर उपयुक्त ठहर गरेपछि मात्र खेतीका लागि राम्रो मानिन्छ तर नेपालमा केहीबाहेक अधिकांश फलफूल पहिले कृषकले उत्पादन सुरु गर्छन् अनि मात्र सरकारी निकायले अनुसन्धान सुरु गर्ने गरेको पाइएको छ । पूर्वी पहाडमा अमिलो जातको फलफूलको खेती सुरु भएको दशकौँ बितेको छ । सरकारी अनुसन्धान र सिफारिसबिना नै स्थानीय जातका कागती, जुनार र सुन्तलाको खेती हुँदै आएको थियो । उत्पादनको लामो समय बितेपछि गत वर्ष मात्र धनकुटास्थित राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम पारिपात्लेले दुई सुन्तला र दुई कागती उन्मोचन गर्न सफल भयो । अमिलो जातका अन्य धेरै आगन्तुक जात अनुसन्धानकै क्रममा छन्, जुन कृषकका बारीमा भने फल्न थालिसकेका छन् । 

इलाम हुँदै नेपाल भित्रिएको आगन्तुक फल किवीको व्यावसायिक उत्पादन सुरु भएको पनि करिब एक दशक बितेको छ । कृषकले आफ्नै मेहनतले किवी लटरम्म फलाउँदासमेत सरकारी निकायबाट कुनै पनि जात सिफारिस हुनसकेको छैन । किवी र एभोकाडोको अनुसन्धानको जिम्मा पाख्रिबासस्थित कृषि अनुसन्धान केन्द्रले पाएको छ । सात वर्षयता यी फलको अनुसन्धान भइरहेको केन्द्रले जनाएको छ तर अहिलेसम्म उपलब्धि शून्यप्रायः छ । नेपालमा यसको खेती उपयुक्त हो वा होइन भन्ने पनि निक्र्योल हुन सकेको छैन ।

एभोकाडोको खेती बढेसँगै यसमा देखिने समस्या समाधानका सम्बन्धमा किसान बेखबर छन् । बर्सेनि फल लाग्ने सिजनमा झुसिलकीराले सताउने तर यसको निराकरण गर्ने जानकारी नभएको धनकुटा नगरपालिका–३ का एभोकाडो कृषक खेम थापाले   बताउनुभयो । “फल नअडिने, बोट खुइलिने अनि झुसिलकीराको प्रकोपले समस्या बढिरहेको छ तर त्यसको निदानका लागि के गर्ने भन्ने जानकारी छैन,” उहाँले भन्नुभयो । 

त्यसो त धनकुटालगायत पूर्वी पहाडमा अमिलो जातका बगान मासिने क्रम बढ्दो छ । तर कृषकले लगाएको बगान मासिनै लाग्दासमेत अनुसन्धान भने पूरा हुन सकेको छैन । अध्ययन अनुसन्धानका लागि सरकारले लगानी नै नगर्ने कृषि अनुसन्धान केन्द्र पाख्रिबासका प्रमुख गोविन्द तिम्सिना बताउनुहुन्छ । अन्य मुलुकमा सरकारी निकायले अनुसन्धान पूरा गरी जात सिफारिस गरेपछि मात्र कृषकले खेती सुरु गर्छन् । नेपालमा भने अधिकांश फलफूल कृषकले फलाउन थालेपछि मात्र सरकारी निकायबाट अनुसन्धान हुने गरेको उहाँको भनाइ छ । 

अध्ययन, अनुसन्धान नहुँदा कृषकले धेरै नै जोखिम मोलेर खेती गर्नुपर्ने बाध्यता नै छ ।  जसका कारण पछिल्लो समय कृषकले विभिन्न समस्या भोग्नुपरेको कृषि अभियन्ता जीवन राईको भनाइ छ । सम्बन्धित निकायले अनुसन्धानमा चासो नदिएको उहाँको गुनासो छ । “स्थानीय तह अनुसन्धान गर्नसक्ने अवस्थामा छैनन्, प्रदेश र केन्द्र सरकारको अनुसन्धानतर्फ खासै ध्यान पुगेको छैन,” उहाँ भन्नुहुन्छ । धेरै मुलुकले सरकारले सिफारिस नगरेको प्रजाति खेती नगर्न मात्र हैन, आयातमै प्रतिबन्ध लगाएको अवस्थामा नेपालमा कृषकले आफैँ विदेशबाट ल्याएर 

खेती गर्दासमेत सरकार बेखबर हुने गरेको उहाँको भनाइ छ । 

अमिलो जातलगायत किवी र एभोकाडो त उदाहरण मात्र हुन् । यीबाहेक अधिकांश फलफूल कृषकले आम्दानी लिन थालेपछि मात्र अनुसन्धान सुरु हुन्छ । पुराना स्थानीय जातका फलफूल लोप हुँदै जाँदा कृषक नयाँ फलफूलको खोजी गर्न बाध्य छन् । तर सरकारी निकायले अध्ययन अनुसन्धानमा चासो नदिँदा कृषक आफैँ जोखिम मोलेर परीक्षण खेती गर्न बाध्य छन् ।