• ७ जेठ २०८१, सोमबार

जबर्जस्ती अनलाइन चलाउनेले पत्रकारिताको विकल्प खोजे हुन्छ : अध्यक्ष बस्नेत

blog

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत । फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौं, फागुन ५ गते । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले तथ्यपूर्ण र खोजमूलक सामग्री दिन नसके अनलाइन सञ्चारमाध्यम टिक्न नसकिने बताउनुभएको छ । शुक्रबार काउन्सिलले नयाँ दर्ता भएका अनलाइन सञ्चार माध्यमका सञ्चालकका लागि गरेको अभिमुखीकरण कार्यक्रममा अध्यक्ष बस्नेतले सो कुरा बताउनुभएको हो । अधिकांश अनलाइन माध्यमहरुमा मौलिक र खोजपूर्ण समाचार सामग्री देखिन छाडेको भन्दै उहाँले चिन्ता ब्यक्त गर्नुभयो ।  

सो अवसरमा उहाँले भन्नुभयो, “‘मौलिक र खोजमूलक समाचार नहुनु अल्छिपना हो । अन्य माध्यमको समाचार हुबहु सारेर वा अल्छी गरी जबर्जस्ती अनलाइन चलाउनु राम्रो होइन । बरु विकल्प खोज्नु राम्रो हुन्छ ।”

अध्यक्ष बस्नेतले विभिन्न व्यवसाय गर्ने र त्यसलाई सजिलो पार्न अनलाइन समाचार माध्यम खोल्ने प्रवृत्तिको पनि कटाक्ष गर्नुभयो । उहाँले भन्नुभयो, “‘सञ्चारमाध्यमको विशेषता र प्रकृति फरक छ । अरु उद्योगबाट हुने फाइदा, बेफाइदाको आँखाबाट सञ्चार उद्योगलाई हेरिनुहुँदैन । अरु कामलाइ सघाउन एउटा अनलाइन पनि दर्ता गराउन भनेर कोही आएको छ भने त्यो गलत हो । त्यस्ता अनलाइन टिक्न सक्दैनन् ।” 

काउन्सिलले अनलाइन दर्ताअघि आचारसंहिता र पत्रकारिताको आधारभूत मूल्य मान्यताको विषयमा नियमित अभिमुखीकरण कक्षा राख्दैआएको छ ।शुक्रबारको कार्यक्रममा मुलुकभरका ३७ वटा नयाँ अनलाइनका प्रतिनिधि सहभागी थिए । सहभागीलाई अन्नपूर्ण पोष्ट दैनिकका प्रधानसम्पादक अखण्ड भण्डारी र काउन्सिलका पूर्व कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले विषयगत विज्ञका रुपमा प्रस्तुतीकरण राख्नुभयो ।