• ३१ वैशाख २०८१, सोमबार

लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)

blog

अन्तरसरकारी वित्तीय हस्तान्तरण 

१. नेपाल सरकारको बजेट तथा कार्यक्रमको अनुगमन तथा मूल्याङ्कनसम्बन्धी व्यवस्थाबारे चर्चा गर्नुहोस् ।

सरकारको आय र व्ययको विवरण नै बजेट हो । नेपालको संविधानले सङ्घ, प्रदेश र स्थानीय तहमा बजेट प्रणालीलाई व्यवस्थित गर्न तीनै तहका आर्थिक कार्य प्रणाली निर्दिष्ट गरेको छ । संवैधानिक व्यवस्थालाई कार्यान्वयनमा लैजान आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी कानुन निर्माण भएको छ ।

बजेट तथा कार्यक्रमको अनुगमन तथा मूल्याङ्कनसम्बन्धी व्यवस्था

नेपाल सरकारको बजेट तथा कार्यक्रम अनुगमन तथा मूल्याङ्कनसम्बन्धी व्यवस्था आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ र सोको नियमावली २०७७ मा रहेको छ । सो व्यवस्थालाई यस प्रकार उल्लेख गरिएको छ ः

क) सम्बन्धित मन्त्रीले त्रैमासिक रूपमा र सचिवले मासिक रूपमा आफ्नो मातहतका आयोजना, कार्यक्रम र बजेट कार्यान्वयनको त्रैमासिक रूपमा अनुगमन तथा मूल्याङ्कन गर्ने, 

ख) अनुगमन तथा मूल्याङ्कनमा निम्न प्रक्रिया समावेश हुने ः

बजेट कार्यान्वयन गर्ने निकायले त्रैमासिक रूपमा केन्द्रीय निकाय र कोष तथा लेखा नियन्त्रक कार्यालयमा प्रगति विवरण पठाउने । 

केन्द्रीय निकायले कार्यालयगत र केन्द्रीय निकायगत रूपमा समीक्षा गर्ने,

कार्यक्रम, कार्ययोजना, खरिद योजना, नगद प्रवाह योजनासमेतका आधारमा भौतिक एवं वित्तीय प्रगति भए÷नभएको र नतिजा प्राप्त नभएकोमा सोको आधार र कारणको समीक्षा गर्ने,

केद्रीय निकायले कार्यक्रमगत, शीर्षकगत र स्रोतगत खर्च, शोधभर्ना प्राप्ति, वैदेशिक सहायता परिचालन तथा राजस्व सङ्कलन अवस्थाको समीक्षा गरी त्रैमासिक रूपमा अर्थ मन्त्रालयमा प्रतिवेदन गर्ने, 

अर्थ मन्त्रालयले अर्धवार्षिक र वार्षिक रूपमा एकीकृत मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्ने,

अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन हरेक वर्षको माघ मसान्तभित्र र वार्षिक प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको चार महिनाभित्र सार्वजनिक गरिसक्ने ।

ग) एकीकृत मूल्याङ्कन प्रतिवेदनमा निम्नानुसारका विवरण समावेश गर्ने ः

राजस्व, खर्च, वैदेशिक अनुदान तथा ऋणको प्राप्ति एवं परिचालनको यथार्थ विवरण,

नेपाल सरकारको समष्टिगत आर्थिक तथा 

वित्तीय स्थिति

नीति तथा कार्यक्रममा समावेश कार्यक्रमको कार्यान्वयन स्थिति,

अन्य आवश्यक विवरणहरू ।


२. दोस्रो पक्षले खरिद सम्झौता उल्लङ्घन गर्दा सार्वजनिक निकायले के कस्तो उपचार प्राप्त गर्न सक्छन् ? जानकारी गराउनुहोस् ।

सार्वजनिक खरिद कार्य दुई पक्षबीचको करारीय सम्झौता र सोको कार्यान्वयनसँग समेत सम्बन्धित रहेको हुन्छ । यसमा सार्वजनिक निकाय पहिलो पक्ष र खरिद कार्यमा भाग लिने व्यक्ति, फर्म, कम्पनी, संस्था वा समिति दोस्रो पक्षका रूपमा रहन्छन् । दुवै पक्ष खरिद सम्झौताका सर्त, दायित्व र उपचारप्रति जानकार एवं जिम्मेवार रहन्छन् । सार्वजनिक खरिद कानुनले दोस्रो पक्षले खरिद सम्झौताको उल्लङ्घन गरेको अवस्थामा सार्वजनिक निकायलाई प्राप्त हुने उपचारको प्रबन्ध गरेको छ । यिनै कानुनी व्यवस्थाबाट निर्देशित रही खरिदसम्बन्धी कागजात एवं सम्झौतामा यससम्बन्धी प्रावधान उल्लेख गर्ने गरिन्छ । सार्वजनिक खरिद ऐन, २०६३ र नियमावली २०६४ ले यससम्बन्धमा निम्न व्यवस्था गरेको पाइन्छ ः

सम्झौताबमोजिम काम सुरु नगरेमा, काम सुरु गरी बीचैमा छाडेमा वा सम्झौताबमोजिमको प्रगति नगरेमा सार्वजनिक निकायले जुनसुकै बेला सम्झौता अन्त्य गर्न सक्ने,

सम्झौता अन्त्य भएमा कार्यसम्पादन जमानत जफत हुने,

पूर्वनिर्धारित क्षतिपूर्ति प्राप्त गर्ने,

सम्झौताबमोजिमको बाँकी काम दोस्रो पक्षको खर्चमा सम्पन्न गराउने, 

बाँकी काम पूरा गर्न लाग्ने रकम सरकारी बाँकीसरह असुलउपर गर्न सकिने,

त्रुटिपूर्ण कार्य अस्वीकार गर्ने,

त्रुटिपूर्ण मालसामान तत्काल हटाउने, प्रतिस्थापन गर्न लगाउने,

अन्य सान्दर्भिक क्षतिपूर्ति भराउने,

खरिद सम्झौताबमोजिम उपलब्ध हुने अन्य उपचार ।


३. सार्वजनिक जिम्मेवारीको पदाधिकारीले पदीय उत्तरदायित्व निर्वाह गर्दा ध्यान दिनुपर्ने विषय के के हुन् ? उल्लेख गर्नुहोस् ।

सार्वजनिक पद धारण गरेको व्यक्तिहरू सदैव सार्वजनिक प्रश्नको घेरामा रहन्छन् । सार्वजनिक स्रोत र शक्तिको उपयोगको प्रक्रिया र नतिजा सम्बन्धमा सरोकारवालालाई जवाफ दिनुपर्ने दायित्वमा रहन्छन् । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ ले सार्वजनिक जिम्मेवारीको पदाधिकारीले पदीय अधिकारको प्रयोग र कर्तव्यको निर्वाह 

गर्दा निम्न कुरामा ध्यान दिनुपर्ने भनी 

उल्लेख गरेको पाइन्छ ः

आफूले सम्पादन गर्ने काम निर्धारित समयमै सम्पादन गर्न आफैँले पहल गर्ने,

सार्वजनिक स्रोतको मितव्ययी, कुशल र उत्पादनशील उपयोग गर्ने,

सार्वजनिक पदाधिकारी वा निकाय मुलुकको सेवक हो भन्ने भावले कार्य गर्ने,

सर्वसाधारण एवं सेवाग्राहीलाई अधिकारसम्पन्न नागरिकका रूपमा व्यवहार गर्ने, 

ढिलासुस्ती र विलम्बलाई स्रोतसाधनको दुरुपयोग एवं थप स्रोतसाधनको खर्च हुनु भन्ने अर्थमा बुझी कार्यसम्पादन गर्ने,

कार्य सम्पादनका क्रममा कुनै कारणले तत्काल कार्यसम्पादन हुन नसक्ने अवस्था भएमा माथिल्लो निकायलाई जानकारी दिने, सेवाप्रवाह गर्ने निकायको हकमा सेवाग्राहीलाई जानकारी दिने र प्रचार–प्रसारसमेत गर्ने,

आफ्नो अधिकार क्षेत्रको विषयमा स्वयंले निर्णय गर्ने, कानुनी जटिलता र द्विविधा भएमा मात्र माथिल्लो निकायको निर्देशन माग्ने,

कार्यसम्पादनको क्रममा सेवाग्राहीसँग प्रचलित मूल्यमान्यता र संस्कृतिअनुरूपको शिष्ट 

व्यवहार गर्ने । 

सार्वजनिक पदाधिकारी कानुनको परिपालना गर्ने दायित्वमा रहने हुँदा कानुनद्वारा निर्धारण 

गरिएका यी विषयलाई कार्यसम्पादनका क्रममा ध्यान दिनुपर्छ । 


४. नेपाल सरकार तथा प्रदेश सरकारले राजस्व र व्ययको अनुमान पेस गर्दा संलग्न गर्नुपर्ने विवरण उल्लेख गर्नुहोस् ।

नेपाल सरकारको अर्थमन्त्रीले प्रत्येक वर्षको जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठक र प्रदेश सरकारको अर्थमन्त्रीले प्रत्येक वर्षको असार महिनाको १ गतेभित्र प्रदेश सभामा आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान पेस गर्नुपर्ने कानुनी व्यवस्था छ । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले नेपाल सरकार तथा प्रदेश सरकारले राजस्व र व्ययको अनुमान पेस गर्दा संलग्न गर्नुपर्ने विवरण निम्नानुसार हुने भनी उल्लेख गरेको छ ः

अघिल्लो आ.व.को राजस्व अनुमानअनुसारको राजस्व सङ्कलन भए÷नभएको विवरण,

अघिल्लो आ.व.को मन्त्रालयगत खर्च 

रकम र खर्चअनुसारको लक्ष्य हासिल भए/नभएको विवरण,

आगामी तीन वर्षमा हुने खर्च अनुमानसहितको मध्यमकालीन खर्च संरचना,

आगामी तीन वर्षको राजस्व र व्ययको प्रक्षेपण,

ऋण, लगानी र दायित्वसम्बन्धी विवरण,

वित्तीय सन्तुलन कायम गर्न अपनाइने रणनीति उल्लेख भएको वित्त नीति,

आगामी तीन वर्षको समष्टीगत आर्थिक स्थिति (नेपाल सरकारले मात्र),

कर वा गैरकरमा छुट दिइएको विवरण,

अघिल्लो आ.व.को वैदेशिक सहायता प्राप्तिको विवरण ।

राजस्वको अनुमानअनुसारको प्रगति हासिल हुन नसक्नुका कारण र त्यसका लागि सुधार गर्नुपर्ने उपाय एवं मन्त्रालयगत लक्ष्यअनुसार खर्च हुन नसकेकोमा सोका कारण र सुधारका उपायसमेत विवरणमा उल्लेख गर्नुपर्ने व्यवस्था छ । यसरी सरकारको राजस्व र व्ययसम्बन्धी नीति एवं व्यवहारलाई सभाप्रति जवाफदेही बनाउन यी व्यवस्था गरेको देखिन्छ । 


५. निजामती सेवाको पदमा हुने स्थायी नियुक्तिसम्बन्धी प्रक्रियागत व्यवस्थाहरू उल्लेख गर्नुहोस् । 

योग्य र क्षमतावान् जनशक्तिलाई सङ्गठनको सदस्यका रूपमा स्वीकार गर्ने औपचारिक कार्य नै नियुक्ति हो । निजामती सेवा ऐन, २०४९ र नियमावली, २०५० ले निजामती सेवाका पदमा हुने नियुक्ति प्रक्रियाको सम्बन्धमा निम्नानुसार उल्लेख गरेको पाइन्छ ः 

खुला वा आन्तरिक प्रतियोगिताद्वारा पूर्ति हुने पदमा नियुक्तिका लागि लोकसेवा आयोगको सिफारिस आवश्यक हुने,

राजपत्राङ्कित पदमा नेपाल सरकारले नियुक्ति गरी सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने तथा राजपत्र अनङ्कित पदमा विभागीय प्रमुखले र आफ्नो र मातहतको कार्यालयका राजपत्र अनङ्कित र श्रेणीविहीन पदमा कार्यालय प्रमुखले 

नियुक्ति गर्न सक्ने ।

खुला प्रतिस्पर्धाबाट सिफारिस भएका उम्मेदवारलाई सिफारिसपत्र दाखिला भएको मितिले राजपत्राङ्कित पदको हकमा दुई महिनाभित्र र राजपत्र अनङ्कित पदको हकमा पन्ध्र दिनभित्र नियुक्त गरी सोको सूचना छिटो माध्यमबाट सम्बन्धित उम्मेदवारलाई दिने,

उम्मेदवारले नियुक्तिको सूचना प्राप्त नगरेको अवस्थामा सार्वजनिक पत्रिकामा एक महिनाको म्याद दिई नियुक्तिपत्र बुझ्न आउन सूचना प्रकाशन गर्ने,

सो म्यादभित्र नियुक्तिपत्र बुझ्न नआएमा वैकल्पिक उम्मेदवारलाई नियुक्ति गरी सोको सूचना पन्ध्र दिनभित्र लोकसेवा आयोगमा पठाउने,

निरोगिताको प्रमाणपत्रबिना नियुक्ति गर्न नसकिने,

प्रथम पटक नियुक्ति भई कार्यभार सम्हाल्नुअघि अनिवार्य रूपमा शपथ ग्रहण गराइने,

महिला कर्मचारीको हकमा छ महिना र पुरुष कर्मचारीको हकमा एक वर्ष परीक्षणकालमा रहने गरी स्थायी नियुक्ति प्रदान गरिने ।

निजामती सेवाको पदमा हुने स्थायी नियुक्तिबाट सरकारमाथि दीर्घकालीन वित्तीय दायित्व सिर्जना हुन जान्छ । तसर्थ यस प्रक्रियालाई कानुनद्वारा प्रस्ट पारी व्यवस्थित गरिएको देखिन्छ । 


६. अन्तरसरकारी वित्तीय हस्तान्तरण भन्नाले के बुझ्नुहुन्छ ? नेपालको तीन तहको सङ्घीय संरचनामा अनुदान हस्तान्तरणसम्बन्धी मौजुदा व्यवस्था र अभ्यासबारे चर्चा गर्नुहोस् । 

बहुतहका सरकारहरू रहने शासकीय संरचनामा एक तहको सरकारले अर्को तहको सरकारलाई सर्तबन्धित वा सर्तरहित स्वरूपमा उपलब्ध गराउने वित्तीय स्रोतलाई अन्तरसरकारी वित्तीय हस्तान्तरण भनिन्छ । सर्तबन्धित हस्तान्तरणमा सो उपयोगका प्रक्रिया र नतिजा सम्बन्धमा स्पष्ट सर्तहरू उल्लेख गरिएका हुन्छन् । सर्तरहित अनुदान सम्बन्धमा यस्तो अनुदान हस्तान्तरण गर्ने तहबाट सर्तहरू उल्लेख गरिएको हुँदैन । मूलतः अन्तरसरकारी वित्तीय हस्तान्तरणको उद्देश्य तहगत सरकारको वित्तीय अन्तरलाई परिपूर्ति गर्नु नै रहन्छ तथापि वित्तीय हस्तान्तरणको प्रकारअनुसार केही विशिष्ट उद्देश्यहरू पनि निर्दिष्ट गरिएको पाइन्छ । नेपालको सङ्घीय संरचनामा नेपालको संविधान, सङ्घीय कानुन र प्रदेश कानुनबमोजिम निम्नानुसार वित्तीय अनुदान हस्तान्तरण हुने गर्दछ ः 

क) नेपाल सरकारबाट प्रदेश तथा स्थानीय तहमा हुने अनुदान हस्तान्तरण

नेपालको संविधानको धारा ६० मा नेपाल सरकारबाट वित्तीय समानीकरण अनुदान, ससर्त अनुदान, समपूरक अनुदान र विशेष अनुदान हस्तान्तरण हुने भनी उल्लेख भएको छ । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले यी चार प्रकारका अनुदान नेपाल सरकारबाट प्रदेश तथा स्थानीय तहमा हस्तान्तरण हुने व्यवस्था गरेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ ले अनुदान सम्बन्धमा थप प्रस्ट पारेको छ । यी 

अनुदान हस्तान्तरणको मौजुदा अभ्यास निम्नानुसार रहेको छ :

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसअनुसारको वित्तीय समानीकरण अनुदान हस्तान्तरण हुने । आयोगबाट निर्धारण हुने समानीकरण अनुदानको परिमाण न्यूनतम, सूत्रमा आधारित र कार्यसम्पादनमा आधारित गरी तीन प्रकारले एकमुष्ठ रूपमा कायम हुने । 

आयोगबाट निर्धारित आधारअनुसार नेपाल सरकारका विषयगत मन्त्रालयबाट कार्यक्रम तथा आयोजना प्रस्ताव भई प्रदेश तथा स्थानीय 

तहबाट कार्यान्वयन हुने गरी कार्यक्रमका रूपमा हस्तान्तरण हुने,

समपूरक र विशेष अनुदानको हस्तान्तरण स्थानीय तह तथा प्रदेशबाट विद्युतीय प्रणालीमार्फत माग भएअनुरूपका आयोजनाहरू राष्ट्रिय योजना आयोगबाट छनोट भई तत् तत् तहबाट कार्यान्वयन हुने गरी हुने ।

ख) प्रदेशबाट प्रदेशभित्रका स्थानीय तहमा हुने अनुदान हस्तान्तरण 

अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ मा प्रदेश सरकारबाट प्रदेशभित्रका स्थानीय तहमा प्रदेश कानुनबमोजिम हस्तान्तरण हुने अनुदानमा वित्तीय समानीकरण अनुदान, ससर्त अनुदान, समपूरक अनुदान, विशेष अनुदान रहेका छन् । यी 

अनुदान हस्तान्तरणको मौजुदा अभ्यास निम्नानुसार रहेको छ :

वित्तीय समानीकरण अनुदान राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिस परिमाणअनुसार हुने, यस्तो परिमाण न्यूनतम र सूत्रमा आधारित गरी दुई प्रकारले निर्धारित हुने ।

आयोगबाट सम्बन्धित प्रदेशका लागि निर्धारित आधारअनुसार प्रदेश सरकारका विषयगत मन्त्रालयबाट कार्यक्रम तथा आयोजना प्रस्ताव भई स्थानीय तहबाट कार्यान्वयन हुने गरी कार्यक्रमका रूपमा हस्तान्तरण हुने,

समपूरक तथा विशेष अनुदान हस्तान्तरणको अभ्यास प्रदेशअनुसार फरक फरक हुने गरेको छ । यी अनुदानको हस्तान्तरण सङ्घीय तहमा जस्तो व्यवस्थित हुन बाँकी नै रहेको छ ।

वित्तीय समानीकरण अनुदानमा प्रत्यक्ष रूपमा सर्त बन्धन रहँदैन भने अन्य अनुदान सर्तानुबन्धित रहन्छन् । पछिल्लो समय सर्तसहितका अनुदानको हिस्सा बढेसँगै स्थानीय तहहरूको वित्तीय स्वायत्तता सङ्कुचित हुँदै गएकाले यसतर्फ ध्यान जान जरुरी देखिएको छ । साथै सङ्घबाट प्रदेश तथा स्थानीय तहमा हुने अनुदान हस्तान्तरणजस्तो प्रदेशबाट प्रदेशभित्रका स्थानीय तहहरूमा हुने अनुदान हस्तान्तरणलाई व्यवस्थित गर्नुपर्ने आवश्यकता देखिएको छ । 

प्रस्तुतकर्ता : अर्जुन शर्मा