काठमाडौं, फागुन २ गते । नेपाल प्रहरीले लागूऔषध कारोबारमा संलग्न छ जना विदेशी नागरिकसहित १३ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
लागूऔषध कारोबारमा संलग्नमध्ये चार जना थाई नागरिक, दुई जना भारतीय र सात जना नेपाली नागरिक गरी कुल १३ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
प्रहरीले गत माघ २४ गते काठमाडौं महानगरपालिका २८ बाट सोलुखुम्बु जिल्लाका ३५ वर्षीय लाक्पा शेर्पालाई नियन्त्रित लागूऔषध ब्रुपेनोर्फिन, डाइजेपाम र फेनारगन एम्पुल २०, ३०० पिस, नाइट्रोभैट १२ हजार ९५० ट्याब्लेट र नगर चार लाख पाँच हजारसहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा माघ २५ गते काठमाडौं महानगरपालिका–२२ सुन्धाराबाट शेर्पालाई बिक्री गरेको लागूऔषध बापतको रकम लिन भारत मधुवनीबाट काठमाडौं आएका भारत, बिहार राज्य मधुवनी जिल्लाका भारतीय नागरिक फैज अहमद (वर्ष ३८) लाई पक्राउ गरेको थियो ।
त्यस्तै, प्रहरीले माघ २६ गते धनुषाको औराही गाउँपालिका ३ बाट जनकपुरबाट काठमाडौंसम्म सवारी साधन व्यवस्थापन गरी लागूऔषध एम्पुल लुकाएर पठाउने धनुषाका २९ वर्षीय रिहासद भन्ने अयान रेजालाई पक्राउ गरेको थियो ।
प्रहरीले सोही दिन औराही गाउँपालिका ३ स्थित कपटोलस्थित सडक किनाराबाट जनकपुरदेखि काठमाडौंसम्म लागूऔषध लुकाइएको गाडीमा सँगै आइ लागूऔषध एम्पुल शेर्पालाई दिने जिल्ला धनुषा औरही गाउँपालिकाका ४५ वर्षका जाकिर नदाफलाई धनुषाबाट पक्राउ गरेको थियो ।
नेपाल प्रहरीले माघ २७ गते काठमाडौं महानगरपालिका– १६ बालाजुबाट शेर्पासँग लागूऔषध एम्पुल खरिद गर्दै आएका जिल्ला काभ्रेपलान्चोक भुम्लु–४ का २४ वर्षका दीपक तामाङलाई ६ हजार रुपियाँसहित पक्राउ गरेको थियो ।
यसैगरी, माघ २७ गते नै काठमाडौं महानगरपालिका–२२ काठमाडौं मलबाट लाक्पा शेर्पासँग लागूऔषध एम्पुल खरिद गर्दै आएका नुवाकोट शिवपुरी–८ का २९ वर्षका लक्ष्मण बखतीलाई ६ हजार नगदसहित पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक विकासराज खनालले बताउनुभयो ।
उहाँले लागूऔषध चरेस २३.८ किलोग्रामसहित चार जना थाई नागरिकलाई पक्राउ गरेको पनि जानकारी दिनुभयो ।
यसैगरी, माघ २८ गते कामनपा–९ गौचरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डिपार्चर कक्षमा थाई एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट थाइल्याण्डको बैंकक जान लागेका ५१ वर्षकी थाई नागरिक यवालुक जुएबश्री, ४२ वर्षकी परिचर्त पमप्रुक, वर्ष २५ का नतापोल त्रिचेइया, वर्ष २० की नतनरे त्रिचेइया रहेको उहाँले बताउनुभयो । त्यस्तै, लागूऔषध खैरो हेरोइन ३९ ग्राम र डिजिटल तराजु थान एकसहित दुई जना भारतीय व्यक्ति पक्राउ परेका छन् ।
उहाँका अनुसार माघ २७ गते कामनपा–९ सिनामंगलस्थित एक होटलबाट मोरङ लेटाङ नगरपालिका–२ का ३४ वर्षका रोशन रिसाललाई लागूऔषध खैरो हेराइन १ ग्राम र डिजिटल तराजु थानसहित पक्राउ परेका छन् । त्यस्तै, थप अनुसन्धानको सिलसिलामा रोशन रिसालको साथबाट लागूऔषध खैरो हेराइन बिक्री गरेका मोरङ केराबारी गाउँपालिका–३ का ३५ वर्षीय अमित श्रेष्ठलाई काठमाडौं–३२ कोटेश्वरबाट लागूऔषध खैरो हेराइन ३८ ग्रामसहित पक्राउ गरी सार्वजनिक गरिएको बताउनुभयो ।
त्यस्तै, माघ २९ गते कामनपा–३२ कोटेश्वरस्थित एक होटलबाट भारतको बिहार राज्य मधुवनी जिल्ला जयनगर, हथलेटेवा ४ का भारतीय नागरिक ३२ वर्षीय श्रवणकुमार महरालाई लागूऔषध खैरो हेरोइन १२ ग्राम, डिजिटल तराजु १ र नगद ६ हजार रुपियाँसहित पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक खनालले बताउनुभयो ।
उहाँले बरामद लागूऔषध एम्पुलको बजार मूल्य प्रतिएम्पुल १६८ रुपियाँका दरले २० हजार तीन सय एक्पुलेको अहिलेको मूल्य ३४ लाख १० हजार चार सय रहेको बताउनुभयो । त्यस्तै, बरामद लागूऔषध नाइट्राभेट ट्याब्लेटको अवैध बजारमूल्य प्रतिट्याब्लेट ३० रुपियाँका दरले १२ हजार ९५० ट्याब्लेटको अहिलेको मूल्य तीन लाख ८८ हजार पाँच सय रहेको छ ।
त्यस्तै, बरामद लागूऔषध चरेसको अवैध बजारमूल्य प्रतिकिलोग्राम ३५ हजारका दरले २३.८ केजीको अहिलेको मूल्य आठ लाख ३३ हजार रहेको छ । बरामद लागूऔषध खैरो हेरोइनको अवैध बजार मूल्य प्रतिग्राम १० हजार रुपियाँका दरले ५१ ग्रामको अहिलेको मूल्य पाँच लाख १० हजार रहेको छ ।