• २५ वैशाख २०८१, मङ्गलबार

बसपार्क प्रयोगका विषयमा तनाव, वार्ताका लागि आह्वान

blog

काठमाडौँ, फागुन २ गते । गोङ्गबुस्थित नयाँ बसपार्क प्रयोग गर्ने विषयमा उत्पन्न विवाद समाधानका लागि उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आन्दोलनरत यातायात व्यवसायी मजदुर सङ्घका पदाधिकारीलाई वार्ताका लागि आह्वान गर्नुभएको छ। 

आफ्ना माग पूरा नभएको भन्दै यातायात मजदुरले मङ्गलबारदेखि उपत्यकामा यातायात बन्दको घोषणा गर्नुका साथै आन्दोलन जारी राखेपछि सरकारले वार्ताका लागि आह्वान गरेको हो। यसअघि यातायात मजदुरको आन्दोलनले सोमबार अपराह्न गोङ्गबु र स्वयम्भू क्षेत्रमा तनाव उत्पन्न भएको थियो। बालाजुको बाइपास, माछापोखरी सडकमा आन्दोलनकारीले प्रहरीका दुईवटा गाडीमा आगजनी तथा तोडफोड गरेका छन्। प्रदर्शनकारीले ट्राफिक प्रहरीले प्रयोग गर्ने डिभाइडर तोडफोड गर्नुका साथै सडकको बीचमा रहेको सवारी व्यवस्थापन पोस्टमा समेत आगजनी गरेका छन्।

नयाँ बसपार्क तथा बालाजु क्षेत्रमा रहेका मोबाइललगायतका कतिपय पसलमा समेत चोरी भएको प्रहरीले जनाएको छ। सो घटनाका कारण ट्राफिक व्यवस्थापनको असर रत्नपार्कसम्म देखिएको थियो। यातायात मजदुरहरूले मङ्गलबार उपत्यकाभित्र सार्वजनिक यातायात नचलाउने घोषणा गरेका छन्। 

सार्वजनिक यातायात नयाँ बसपार्कभित्रबाट सञ्चालन हुनुपर्ने र बसपार्क बाहिरबाटै सञ्चालन गर्न पाउनुपर्ने भन्ने विषयमा विवाद हुँदै आएको थियो। बसपार्क बाहिरबाटै सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै आएका सवारीसाधनले मूल सडकमा जथाभावी पार्किङ गरेपछि सवारी आवागमनमा समस्या बढ्दै गएकाले ट्राफिक प्रहरीले कडाइ गर्दै आएको थियो। सोको विरोधमा यातायात व्यवसायीले बीच सडकमा सवारीसाधन तेस्र्याएर विरोध गर्दै आएका थिए। 

काठमाडौँ महानगरपालिकाले समस्या समाधान र सवारीसाधनको उचित व्यवस्थापन गर्न भन्दै नयाँ नियम जारी गरेको थियो। बालाजु, माछापोखरीलगायतका स्थानमा पार्किङ गरी उपत्यकाभित्र र बाहिर सञ्चालन भइरहेका सवारीसाधन नयाँ बसपार्कभित्र पार्किङ गरेर त्यहीँबाट सञ्चालन गर्नुपर्ने नियम जारी भएको थियो। कामपा, नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घ, नयाँ बसपार्क व्यवस्थापनको जिम्मेवारी पाएको ल्होत्से बहुद्देश्यीय कम्पनी र सरोकारवाला निकायबीच सहमति भएको थियो। उक्त सहमतिविपरीत सोमबार अखिल नेपाल यातायात मजदुर सङ्घका अध्यक्ष दीपक केसी तथा नेपाल यातायात मजदुर सङ्गठनका अध्यक्ष भीमज्वाला राईसहितको समूहले नयाँ बसपार्कभित्र विरोधसभा गर्ने तयारी गर्दा ल्होत्से कम्पनीका प्रतिनिधिबीच विवाद उत्पन्न भएको थियो। विवादपछि दुईवटै मजदुर सङ्गठनले सडकमा गाडी तेस्र्याएर आवागमन ठप्प पारी सुरक्षाकर्मीका सवारीसाधन तथा सार्वजनिक संरचनामाथि आगजनी सुरु गरेका थिए। 

ल्होत्से कम्पनीका अध्यक्ष दीपक कुँवरले सोमबारको घटना नियोजित र योजनाबद्ध रहेको बताउनुभयो। उहाँले पूर्वसहमति पालना गरी समस्या समाधान गर्न आफू तयार रहेको अवस्थामा भौतिक आक्रमणमा उत्रिनु र सार्वजनिक सम्पत्तिमा क्षति पु-याउनु उचित नहुने बताउनुभयो।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख मीरा चौधरीले नयाँ बसपार्कबाट सार्वजनिक यातायात सञ्चालन गर्ने सहमतिविरुद्ध यातायात मजदुर सङ्गठनले आन्दोलन गर्नुको उद्देश्य स्पष्ट नभएको बताउनुभयो। 

नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका अध्यक्ष भीमज्वाला राई, नेपाल यातायात मजदुर सङ्घका अध्यक्ष धर्म भण्डारी तथा अखिल नेपाल यातायात मजदुर सङ्घका अध्यक्ष दीपक केसीद्वारा जारी विज्ञप्तिमा मङ्गलबारदेखि उपत्यकामा सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने उल्लेख गरिएको छ। 

यसै विवादलाई लिएर आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा छलफल पनि भएको थियो र सहमति पनि भएको थियो। नेपाल यातायात मजदुर सङ्घका अध्यक्ष धर्म भण्डारीले उक्त विवाद समाधान गरी यातायात सञ्चालन हुने वातावरण बनाउन सरकारसँग आग्रह गर्नुभयो। उहाँले आफ्नो सङ्गठन पूर्वसहमति पालना गर्न प्रतिबद्ध रहेको बताउँदै नयाँ बसपार्कबाट सार्वजनिक यातायात सञ्चालन गर्दा राज्यको तर्फबाट पाउनुपर्ने सुविधाको प्रत्याभूति हुनुपर्ने बताउनुभयो।