• २४ वैशाख २०८१, सोमबार

सिटी र युनाइटेडको सहज जित

blog

एस्टन भिल्लाविरुद्ध गोल गरेपछि सिटीका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, फागुन १ गते । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडले सहज जित निकालेका छन् । घरेलु मैदानमा आइतबार राति भएको खेलमा सिटीले एस्टन भिल्लालाई ३–१ गोलले हरायो ।

अर्को खेलमा युनाइटेडले लिड्स युनाइटेडलाई उसैको मैदानमा २–० गोलले हरायो । सिटीको सहज जितमा रोड्री, इल्केइ गुन्डोगान र रियाद महारेजले गोल गर्नुभयो । एस्टन भिल्लाका ओली वाटकिन्सले सान्त्वना गोल फर्काउनुभयो ।

जितसँगै सिटीले शीर्षस्थानमा रहेको आर्सनलसँगको दुरी तीन अंकले छोट्याएको छ । दोस्रो स्थानमा रहेको सिटीको २२ खेलबाट ४८ अंक छ । एक खेल कम खेलेको आर्सनल ५१ अंकसहित शीर्षस्थानमा छ । पराजित एस्टन भिल्ला २८ अंकसहित ११औं स्थानमा छ । 

यसैगरी अर्को खेलमा युनाइटेडलाई जिताउन मार्कस रासफर्ड र एलेहान्द्रो गर्नाचोले गोल गर्नुभयो । जितसँगै तेस्रो स्थानमा रहेको युनाइटेडले २३ खेलबाट ४६ अंक बनाएको छ । पराजित लिड्स १९ अंकसहित १७औं स्थानमा छ । एजेन्सी