• १२ मंसिर २०८१, बुधबार

पुरस्कार बहिष्कार गरेको टिमलाई आयोजकद्वारा बहिष्कार

blog

उपाधि जितेपछि खुशियाली मनाउदै मिक्लाजुङका खेलाडी । तस्बिर : गोरखापत्र

राधा लुइटेल

फिदिम, माघ २९ गते । पाँचथरको अर्थे युवा क्लबले पुरस्कार बहिस्कार गर्ने पाथिभरा याङवरक भलिबल टिमलाई तीन वर्ष खेलमा सहभागी नगराउने भएको छ । जिल्लाको फिदिम नगरपालिका ६ सिवामा आयोजित तेस्रो पालिकास्तरीय भलिबल प्रतियोगिताको दोस्रो पुरस्कार बहिष्कार गरेको भन्दै आयोजक अर्थे युवा क्लबले यस्तो निर्णय गरेको हो ।

शनिबारका लागि निर्धारित फाइनल खेल साँझसम्म नसकिएपछि त्यसअघिको अङ्क तालिकालाई आधार मान्दै आयोजकले ताप्लेजुङको मिक्लाजुङ गाउँपालिलाई विजेता घोषणा गरेको थियो । दुई सेट खेल्न बाँकी छँदै आयोजकले मनोमानी ढङ्गले आफ्नो टिमलाई उपविजेता घोषणा गरेपछि पुरस्कार बहिस्कार गरिएको ताप्लेजुङका टिम क्याप्टेन बाबुराम श्रेष्ठले बताउनुभयो ।

फाइनल खेल सुरु गर्न ढिलाइ गरेर आयोजकले आफूहरू माथि षडयन्त्र गरेको आरोप पनि उहाँले लगाउनुभयो । ‘‘दुई बजे सुरु गर्ने भनिएको खेल ४ बजे मात्र खेलाउन थालियो, खेल्दा खेल्दै रात परेकाले स्थगन गर्न अनुरोध गर्दा पनि आयोजकले जबरजस्ती प्रतिस्पर्धी टिमलाई विजेता घोषणा गरेकाले दोस्रो पुरस्कार बहिस्कार गरेका हौँ,’’ श्रेष्ठले भन्नुभयो । 

त्यसअघि सम्पन्न तीन मध्ये पहिलो सेट पाथिभरा याङवरकले जितेको थियो । दोस्रो र तेस्रो सेट मिक्लाजुङले जितेपछि चौथो सेट खेल्दा खेल्दै रात परेको र हावाले समस्या भएपछि खेल स्थगन गर्न अनुरोध गरेको श्रेष्ठ बताउनुहुन्छ ।

खेल संयोजक कमल तुम्रोकले ताप्लेजुङका खेलाडीले खेल स्थगन गर्न अनुरोध गरेपनि दोस्रो दिन पुनः फाइनल खेलाउन नसकिने भएकाले पूर्ववत अङ्क तालिकाको आधारमा मिक्लाजुङलाई विजेता घोषणा गरिएको बताउनुभयो । आयोजकको निर्णय नमानी पुरस्कार बहिस्कार गरेर हिँडेकै कारण पाथिभरा याङवरक र त्यसका खेलाडीलाई तीन वर्षसम्म खेलमा सहभागी नगराउने निर्णय भएको उहाँले जानकारी  दिनुभयो ।

उक्त प्रतियोगिताको विजेता घोषित मिक्लाजुङले ८० हजार रुपियाँसहित ट्रफि र प्रमाण पत्र पाएको छ । दोस्रो पुरस्कारको राशि ५० हजार रुपियाँ थियो । माघ २३ गतेदेखि सुरु भएको प्रतियोगिताका १० टिमको सहभागिता रहेको थियो ।