• १४ मंसिर २०८१, शुक्रबार

एमालेलाई ठूलो धक्का : नेपाल

blog

काठमाडौँ, माघ २९ गते । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सुदूरपश्चिम प्रदेश सरकार ढलेर नेकपा (एमाले)लाई ठूलो धक्का लागेको दाबी गर्नुभएको छ । राष्ट्रिय जनसांस्कृतिक महासङ्घ (समाजवादी)को बैठकलाई शनिबार सम्बोधन गर्दै उहाँले सुदूरपश्चिम प्रदेश सरकार ढलेर एमालेलाई ठूलो धक्का परेको र सो क्रम राष्ट्रपति निर्वाचनसम्म नै कायम हुने तर्क गर्नुभयो । 

उहाँले सो प्रदेश सरकारमा अहिले एकीकृत समाजवादी र नेपाली कांग्रेस मात्रै रहेको बताउनुभयो । उहाँले यो सुरुवातजस्तो देखिएकाले हौसला बुलन्द पार्न नेता कार्यकर्तालाई अनुरोध गर्नुभयो । उहाँले निर्वाचनको परिणाम सोचेजस्तो नआए पनि ५० प्रतिशत उम्मेदवार जिताउन सफल भएको दाबी गर्नुभयो । 

नेपालले अरू पार्टीले कम उम्मेदवार उठाउँदा पनि कम सिट हासिल गरेको र आफूहरूले कम उम्मेदवार उठाउँदा पनि ५० प्रतिशतभन्दा बढी उम्मेदवारलाई जिताएको तर्क गर्नुभयो । 

उहाँले शासनको अन्तिम फैसला गर्ने ठाउँ नै जनता भएको भन्दै समुदायका सवाल उठान गर्न र जनसरोकारका काममा लाग्न कार्यकर्तालाई निर्देशन गर्नुभयो । पूर्वप्रधानमन्त्री तथा नेकपा एसका सम्मानित नेता झलनाथ खनालले देशमा शोषक वर्ग र भ्रष्टाचारीको कमी नभएको बताउनुभयो । उहाँले नेपालमा दलाल पुँजीपति, शोषक, कमिसन खोर, भ्रष्टाचारी, मुनाफा खोरी र विदेशीका दलाल रहेको बताउनुभयो ।