• ८ मंसिर २०८१, शनिबार

मोबाइलको प्रयोग : ‘असर कस्तो छ त ?’

blog

२१औँ शताब्दीको डिजिटल प्रविधिको युग हो । हामी यही युगमा छौँ । सानादेखि ठूलासम्मको एउटै समस्या– मोबाइलको जथाभावी प्रयोग । हुनत डिजिटलको प्रयोगले मानव जीवनशैलीलाई सरल त बनाएको छ । हातमा भएको  मोबाइलबाट विश्वका हरेक गतिविधि जान्न, बुझ्न र थाहा पाउन सकिने भएको छ । यो मोबाइल फोन सन् १९७३ मा  नै आएको हो । यसको आविष्कार अमेरिकाका महान् इन्जिनयर डा. मर्टिन कुपरले गरेका हुन् । नेपालमा भने २०५६ सालपछि मात्र प्रयोगमा आएको हो ।

सूचना, सञ्चार, अध्ययन खोज अनुसन्धान एवं मनोरञ्जनका लागि मोबाइल फोन अति महìवपूर्ण  बनेको छ । अहिले संसारका हरेक व्यक्तिका लागि मोबाइल  सबैभन्दा प्रिय वस्तु बनेको छ । 

डिजिटल प्रविधिको विकासले  चमत्कार नै भएको छ ।  हरेक व्यक्ति, विद्यालय, विश्वविद्यालय, सरकारी तथा प्राइभेट सबै निकायमा आ–आफ्नो आवश्यकताअनुसारका डिजिटल सामग्री प्रयोग गर्ने गर्दछन् । अब भनौँ विशेष गरी बालबालिकामा मोबाइल प्रयोगको लत विकल्परहित जस्तै नै बनेको छ । यो यस्तो बन्यो जसलाई सम्झाउने र सल्टाउने उपाय नै  नभएसरह बनेको छ ।  अझ बालबालिकामा त यसको लत धानिनसक्नु नै छ । यसले बालबालिकाको पढाइ, घरपरिवार सम्बन्ध,  एक अर्कालाई गर्ने व्यवहार तथा सामाजिक भावनाका क्रियाकलापमाथिको सन्तुलनमा नै  नराम्ररी असर मारेको छ ।  हेरौँ त्यसबाट पर्ने असर कस्ता छन त ? :  

डिजिटल सञ्जाल :

डिजिटल प्रविधि सिकाइका लागि उपयुक्त साधन हो भन्ने कुरालाई नकार्न सकिँदैन । यस प्रविधिअन्तर्गत  फेसबुक, ट्विटर, युट्युब, स्काइप, भाइबरजस्ता सामाजिक सञ्जालहरू प्रयोगमा आएका छन् । यस्ता सामाजिक सञ्जालको माध्यमबाट स–साना बालबालिकामा बोलीको विकास गर्न, वस्तुलाई चिनाउन, वस्तुको उपयोग कसरी गर्ने भनेर सिकाउन सकिन्छ । डिजिटल प्रविधिको माध्यमबाट पढ्न लेख्न कुनै खोज अनुसन्धान गर्न चित्र कोर्न नाच्नेजस्ता कार्य सिक्न सकिन्छ । बालकको शारीरिक, मानसिक बौद्धिक तथा संवेगात्मक विकासका विषयलाई डिजिटल प्रविधिले महत्वपूर्ण योगदान पु-याउने गर्दछ । सिकाइ मात्र नभई सामाजिक जीवनका असल बानी व्यवहारहरू सिकाउन विविध क्रियाकलापहरूबाट मनोरञ्जन लिन पनि डिजिटल प्रविधिले सहयोग पु-याउँदछ तर जानेर वा नजानेर बालबालिकालाई स–सानो उमेरबाट नै मोबाइलको प्रयोग गराउँछौँ । आवश्यक अनावश्यक सबै सामाजिक सञ्जाल तथा एपहरू प्रयोग गर्न दिन्छौँ । जब बालबालिकामा मोबाइलप्रति लत बस्छ तब अभिभावकहरूमा मोबाइलको लतबाट कसरी छुटकारा दिलाउने भनेर चिन्ता जाहेर हुने गर्दछ । 

मोबाइलको लत वा नसा बस्ने : 

अभिभावकहरू आफ्ना बालबालिकाहरूलाई रिसाएको बेला खुसी पार्न, खाना नखाएको बेला फकाउन, आफू कुनै काममा व्यस्त रहेका बेला उनीहरूलाई भुलाउन मोबाइल प्रयोग गर्न दिएर उनीहरूलाई मोबाइलप्रति रुचि बढाउन प्रोत्साहित गर्दछन् ।  बाल मस्तिष्कले जब नयाँ–नयाँ कुरा हेर्न, देख्न, मनोरञ्जन लिन थाल्दछन् तब उनीहरूलाई मोबाइल नभई नहुने अति आवश्यकीय वस्तु बन्न पुग्दछ । बालबालिकाले मोबाइलको अधिक प्रयोग गर्ने राष्ट्र चीन अग्रस्थानमा रहेको छ । त्यसैले चीनले मोबाइललाई विद्युतीय नशालु पदार्थको संज्ञा दिने गरेको छ । 

शारीरिक असर :

मोबाइलमा लगातार बसिरहँदा उनीहरूमा शारीरिक कसरत पुग्दैन र मोटोपन बढ्न जान्छ । मोटोपन रोगको स्रोत हुन पुग्दछ । जसबाट रक्त सञ्चार प्रणाली तथा पाचन प्रणालीमा असर पुग्न जान्छ । मोबाइलबाट निस्कने विकिरणबाट आँखाको दृष्टिमा असर पर्ने, टाउको दुख्ने,  मेरुदण्डमा असर पार्ने  निद्रा नलाग्नेजस्ता शारीरिक असरहरू देखा पर्दछन् । 

मानसिक असर :

बलबालिकाको दुईदेखि तीन वर्षको अवधिमा मस्तिष्कको वृद्धि तथा विकास करिब ९० प्रतिशत भएको हुन्छ । अधिक मोबाइलको प्रयोगले मस्तिष्कको इन्सुलामा प्रभाव पारी मस्तिष्कको वृद्धि तथा विकासमा असर पारी मानसिक समस्या देखा पर्दछ । यसबाट निस्कने विकिरणले मस्तिष्कमा ह्रास आउने तथा क्यान्सरसमेत हुन सक्दछ । 

सामाजिकीकरणमा असर :

बालबालिकाहरूको संसार नै मोबाइल हुने हुँदा उनीहरू आ–आफनो घरपरिवारमा हुने चाडपर्व, घरपरिवारमा आउने पाहुना, उनीहरूमा गरिने शिष्टता, अपनाइने व्यवहारका बारेमा कुनै चासो नै राख्दैनन् । सामाजिक रीतिरिवाजमा गर्नुपर्ने व्यवहार,  इष्टमित्रमा गर्नुपर्ने आदार सम्मान आदिजस्ता व्यवहारका बारेमा अनभिज्ञ नै  हुन्छन् । उनीहरूले सञ्जालमा हेर्ने–देख्ने अश्लील चित्रहरू फिल्मले आफ्नो संस्कृति परम्परालाई फिका बनाएको हुन्छ । जसबाट व्यक्तिले समाजप्रति गर्नुपर्ने व्यवहार, निर्वाह गर्नुपर्न भूमिकाका बारेमा अनभिज्ञ भई सामाजिकीकरणमा असर पु-याउँदछ । 

मनोवैज्ञानिक असर :

मोबाइलका अश्लील भिडियो, धारावाहिक गेमहरूको प्रयोगले बालबालिकाहरू लतमा फसिसकेका हुन्छन् । गेममा जित्नै पर्ने, जित्न नसक्दा रिसाउने स्वभावको संवेग बढ्न जान्छ । एकपछि अर्को नयाँ नयाँ चित्र हेर्ने बानीले पढाइमा रुचि कम हुँदै जाने र पढाइमा कमजोर हुँदै जाने हुन्छन् । जसबाट शिक्षक, साथीभाइ तथा अभिभावकको सामीप्यबाट टाढा हुँदै जाने र एकाङ्कीपन बढ्दै जाने स्वभाव देखापर्दछ । सबै कोणबाट आत्मबल कमजोर महसुस हुँदै जाने र अन्त्यमा आत्महत्याको अवस्थासम्ममा पुग्न सक्छन् ।