बिकास अधिकारी
पश्चिम नवलपरासी, मंसिर ७ गते । पश्चिम नवलपरासीको रामग्राम र पाल्हीनन्दनमा समुदायस्तरमा शिविर सञ्चालन गरेर क्षयरोगी (टिबी) को खोजी गरिएको छ । रामग्राम –१८ बन्जरीयामा एआई प्रविधिसहितको एक्सरेमार्फत शङ्कास्पद व्यक्तिहरूको चेकजाँच गरिएको छ ।
समुदायमा क्षयरोगीको संख्या बढ्दै गएपछि विराट मेडिकल ट्रस्टसँगको सहकार्यमा रामग्राम नगरपालिकाद्वारा आयोजित शिविरमा छातीमा समस्या देखिएकाहरुको एआई प्रविधिसहितको एक्सरेमार्फत परीक्षण गरिएको हो । ज्येष्ठ नागरिकलाई परीक्षण कार्ड हस्तान्तरण गर्दे रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले ग्रामीण भेगमा आयोजना हुने शिविरले आम जनतालाई धेरै सहज हुने बताउँदै नगरपालिकाले आगामी दिनमा अन्य स्थानमा पनि यस्ता शिविर सञ्चालन गर्ने बताउनुभयो । स्वास्थ्य सेवा ग्रामीण भेगसम्म विस्तार गर्दै जानेक्रममा नगरपालिकाले स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धि गर्दैगएको नगर प्रमुख यादवले बताउनुभयो । उक्त शिविरमार्फत एआइ एक्सरेद्वारा सम्भावित बिरामीको एक्सरे गरेर रोगी पहिचान गरिएको छ ।
लक्षण नदेखिए पनि क्षयरोगका किटाणु शरीरभित्र हुन सक्ने भएकाले एआइ एक्सरेमार्फत उनीहरूको पहिचान गरिएको रामग्राम नगरपालिका जनस्वास्थ्य निरीक्षक सुरज हरिजनले जानकारी दिनुभयो । शिविरमा २ सय ४० जनाको परीक्षण गर्दा ४० जना शङ्कास्पद क्षयरोगी भेटिएका छन् । एआइ प्रविधिसहितको एक्सरेले तत्काल फोक्सोको अवस्थाका विषयमा विश्लेषणसहितको विवरण उपलब्ध गराउने गर्दछ ।
भीम अस्पताल भैरहवाका डाक्टर रविप्रकाश शुक्लाका अनुसार शिविर पाल्हीनन्दन गाउँपालिकामा सञ्चालन गरिएको थियो । गेर्मीमा भएको शिविरमा १७९ जनाको परीक्षण गर्दा ६० जना शङ्कास्पद भटिएको विराट मेडिकल ट्रष्टकी जिल्ला कार्यक्रम संयोजक आस्था शर्माले जानकारी दिनुभयो । नवलपरासीमा क्षयरोगीका संख्या बढ्दैगएको छ । जिल्लामा चारसय बढी सक्रिय क्षयरोगी रहेका छन् ।