अविनाश चौधरी
धनगढी, मङ्सिर १२ गते । महिला हिंसाको ८१ प्रतिशत कारक पुरुष रहेको एक तथ्याङ्कले देखाएको छ ।
महिला पुनस्र्थापना केन्द्र (ओरेक) को आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदनले महिला हिंसाका कारकमा पुरुषको हिस्सा बढी देखाएको हो । १९ प्रतिशत हिंसा भने पुरुष प्रवृत्तिको महिलाका कारण हुने गरेको जनाइएको छ ।
ओरेकको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१/८२ मा सुदूरपश्चिम प्रदेशमा घरेलु हिंसा ३.६ प्रतिशत, यौन दुव्र्यवहार ५.८ प्रतिशत, बलात्कार १०.१ प्रतिशत, मानव बेचबिखन ७.४१ प्रतिशत रहेको थियो । सुदूरपश्चिम प्रदेशमा दाइजो प्रथा २ प्रतिशत, बालविवाह २५ प्रतिशत रहेको ओरेकको तथ्याङ्कले देखाएको छ ।
यसैबिच, लैङ्गिक विभेदमा आधारित हिंसा अन्त्य हुनु पर्ने सरोकारवालाले जोड दिएका छन् । शुक्रबार धनगढीमा आयोजना यस्तो जोड दिइएको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक गौतम मिश्रले महिलामाथिमात्रै नभइ पुरुषमाथि पनि हिंसा भइरहेको बताउनुभयो । पुरुषले आफूमाथि भएको हिंसा दर्ता गर्न लाज मान्ने कारणले त्यस्तो हिंसा नदेखिएको भन्दै उहाँले थप्नुभयो,“तर, पुरुष हिंसा पनि छ । नदेखिएकोमात्रै हो ।”
कुनै पनि घटनामा महिला दुई चोटी पीडित हुने गरेको प्रहरीको तर्क छ । एकचोटी पीडित भएर आएको महिला दोस्रो पटक अदालतमा वकिलको प्रवेश भएपछि पीडित हुने गरेको मिश्रले बताउनुभयो । उहाँले मानव बेचबिखनको मुद्दा अन्तिममा लेनदेनमा मिल्ने परिपाटीले दोषीले उन्मुक्ति पाइरहेको उल्लेख गर्नुभयो । महिला सम्बन्धी मुद्दा सहज रुपमा दर्ताका लागि प्रदेशभरीकै महिला प्रहरी सेललाई निर्देशन दिइने मिश्रको भनाइ छ ।
कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले प्रविधिको दुरुपयोगका कारण पनि महिला पीडित भइरहेको बताउनुभयो । कानुनले महिलालाई धेरै अधिकार दिएको चर्चा गर्दै उहाँले हिंसा अन्त्य गर्ने सोंचमा अडिग रहन सबैलाई आग्रह गर्नुभयो ।