काठमाडौँ, माघ २७ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । शुक्रवार बिहान ९:३० बजेबाट बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
नागरिक उन्मुक्ति पार्टी बाहेक संयन्त्रका अन्य दलहरूको सहभागितामा बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्यकिरण शर्माले जानकारी दिनुभयो । यता नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले भने बैठकबारे आफूलाई जानकारी नभएको बताउनुभयो ।
सत्तारुढ गठबन्धनको एक घटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिइसकेको छ । यद्यपि सो दलले सरकारलाई समर्थन कायमै राखेको छ । सरकारबाट बाहिरिनुअघि राष्ट्रिय स्वतन्त्र पार्टीले संयन्त्रको बैठक राख्न माग गरे पनि बैठक बस्न सकेको थिएन । रास्वपा सरकारबाट बाहिरिएपछि पहिलोपल्ट संयन्त्रको बैठक बसेको छ यसलाई सबैले चासोपूर्वक हेरेका छन् ।