• २ जेठ २०८१, बुधबार

आठ करोड जरिवानासहित ठेक्का रद्द : पेस्की रकम फिर्ता, धरौटी जफत

blog

राजु लामिछाने

रुकुमपश्चिम, माघ २७ गते । वाईपी कन्स्ट्रक्सन प्रालिले १० वर्षसम्म पनि पुल निर्माण नगरेपछि सरकारले पेस्की रकम फिर्ता र कम्पनीको धरौटी रकम जफत गरेको छ। कम्पनीलाई आठ करोड ५७ लाख ९५ हजार ६२६ रुपियाँ जरिवानासमेत तोकिएको छ।

मध्यपहाडी राजमार्गअन्तर्गत रुकुमपश्चिम र जाजरकोट जोड्ने भेरी नदीको पुल निर्माण गर्ने जिम्मा लिएको सो कम्पनीले पुल निर्माण अलपत्र पारेपछि सरकारले दुई करोड ६० लाख पेस्की रकम र ७२ लाख धरौटी रकम जफत गरेको हो। मध्यपहाडी राजमार्ग आयोजना कार्यालय दैलेखका अनुसार १० वर्षसम्म पनि पुल निर्माण नगरेपछि पेस्की रकम फिर्ता, धरौटी जफत गरेर जरिवाना गर्ने निर्णय गरिएको हो।

आयोजना कार्यालयका प्रमुख सिनियर डिभिजन इन्जिनियर युवराज पोखरेलका अनुसार पुल निर्माणको जिम्मा लिएको वाईपी कन्स्ट्रक्सन प्रालिसँगको ठेक्का गत मङ्सिर २९ गते तोडिएको हो। ठेक्का तोडिएपछि निर्माण कम्पनीबाट पेस्की असुल गर्नुका साथै बैङ्कमा राखेको धरौटीसमेत जफत गरिएको हो। 

कार्यालय प्रमुख पोखरेलका अनुसार सार्वजनिक खरिद नियमावली, २०६३ अनुसार उक्त ठेकेदार कम्पनीलाई आठ करोड ५७ लाख ९५ हजार ६२६ रुपियाँ जरिवाना तोकिएको छ। सोही नियमावलीअनुसार ठेक्का तोडिएपछि निर्माण व्यवसायीबाटै उक्त योजनाको रकम पनि असुलउपर गर्ने व्यवस्था रहेको छ। अब पुल निर्माणका लागि लाग्ने खर्चसमेत लागत अनुमान तयार गरेर वाईपी कन्स्ट्रक्सनबाटै असुल गरिने प्रक्रियामा रहेको पोखरेलले जानकारी दिनुभयो। कम्पनीले उक्त रकम तिरेन भने केन्द्रीय तहसिल कार्यालयमार्फत असुल गरिने उहाँको भनाइ रहेको छ। निर्माण व्यवसायीले पेस्कीको व्याज, अतिरिक्त रकम र क्षतिपूर्तिबापतको रकमसमेत तिर्नुपर्ने भएको छ।

योजना कार्यालयका अनुसार ठेकेदार कम्पनीले रुकुमपश्चिमको चौरजहारी नगरपालिका–२, अधेरेबाट जाजरकोटको भेरी नगरपालिका–१३, कुदु जोड्ने भेरी नदीमा पुल निर्माणको जिम्मा लिएको थियो। निर्माणको जिम्मा लिएको कम्पनीले दुवैतर्फ सामान्य पिल्लर मात्रै खडा गरी निर्माण कार्य अलपत्र पारेको कार्यालयको भनाइ छ।

कम्पनीले २०६९ सालमा तीन वर्षमा पुल निर्माण सम्पन्न गर्ने भन्दै ठेक्का सम्झौता गरेको थियो। १८ करोड रुपियाँ स्टिमेटको यो ठेक्कामा सम्झौता गर्ने वाईपी कन्स्ट्रक्सनका प्रोपराइटर राजु श्रेष्ठको निधनपछि आधिकारिक प्रतिनिधिका रूपमा सुरेन्द्रप्रसाद श्रेष्ठ रहेको बताइएको छ। पुल नबन्दा सडक आयोजनाको स्तरोन्नति र कालोपत्रेको कामसमेत प्रभावित भएको आयोजना कार्यालयले जनाएको छ। 

मध्यपहाडी राजमार्गको रुकुमपश्चिम खण्डबाट जाजरकोट पुग्ने यातायातका साधन आउआउ गर्ने बाटो सोही पुल नबनेकाले खुलेको छैन। पुल नबन्दा सर्वसाधारणले एक घण्टाको पैदल दूरी हिँडेर मटेला र नाखिरा गाउँमुनि रहेको झोलुङ्गे पुल तर्नुपर्ने बाध्यता रहेको छ। नयाँ लागत स्टिमेट तयार गरेर विभागमा पठाइएकाले स्वीकृत हुनेबित्तिकै नयाँ टेन्डर आह्वान हुनेसमेत आयोजना प्रमुख पोखरेलले बताउनुभयो।