• २० असोज २०८१, आइतबार

त्रिशूली जलविद्युत् केन्द्रको जीर्णोद्धार हुँदै

blog

काठमाडौँ, माघ २७ गते । नेपालको पाँचौँ पुरानो जलविद्युत् आयोजना त्रिशूली जलविद्युत् केन्द्रको जीर्णोद्धार तथा आधुनिकीकरण गरिने भएको छ । 

वैशाखदेखि सुरु भएको केन्द्रको जलाशय पुनस्र्थापनाको काम एक महिनाभित्र र विद्युत्गृहलाई स्वचालित बनाउने काम एक वर्षभित्र सक्ने गरी काम भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । 

वि.सं. २०२३ मा सञ्चालनमा आएको यो जलविद्युत् केन्द्र ७५ करोड रुपियाँ लागतमा जीर्णोद्धार तथा आधुनिकीकरण गर्न लागिएको हो । नुवाकोटको विदुर नगरपालिका–९, त्रिशूली बजारमा रहेको सो विद्युत्गृहका उपकरण पुरानो तथा जीर्ण बनेका र माटो, बालुवा भरिएर जलाशय चौरमा परिणत भएपछि त्यसको जीर्णोद्धार तथा आधुनिकीकरण सुरु गरिएको हो । 

जीर्णोद्धार तथा आधुनिकीकरण परियोजनामार्फत विद्युत्गृहको नियन्त्रण कक्षमा रहेका इलेक्ट्रोमेकानिकल उपकरणलाई आधुनिक तथा स्वचालित बनाउन लागिएको छ । करिब चार सय रोपनी जग्गामा फैलिएको जलाशयमा थुप्रिएको माटो, बालुवा हटाएर त्यसको पुनस्र्थापनाको काम सुरु गरिएको छ । जलाशयको दायाँ किनारतर्फबाट ५० क्युमेक पानी बहाव क्षमताको एक हजार दुई सय मिटर लम्बाइ भएको नयाँ बाइपास नहर निर्माण गरिएको छ । यो नहर सञ्चालनमा रहेकाले विद्युत् उत्पादन बन्द नगरी जलाशयमा भरिएको माटो, बालुवा निकाल्ने काम भइरहेको छ । विद्युत्गृहलाई स्वचालित बनाउन ठेक्का सम्झौता भई केही उपकरण उत्पादनको क्रममा रहेको र पावर ट्रान्सफर्मरलगायतका उपकरण केन्द्रमा आपूर्ति भइसकेको प्राधिकरणले जनाएको छ ।