• ३ जेठ २०८१, बिहिबार

बचत फिर्ता माग्ने बढेपछि शिवशिखर सहकारी समस्यामा

blog

नवीन शाही   

सुर्खेत, माघ २७ गते । बचतकर्ताले रकम फिर्ता माग्न थालेपछि शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था समस्यामा परेको छ । सो सहकारी संस्थाले बचतकर्ताको विश्वास गुमाउँदै गएपछि सो सहकारी संस्थाको सुर्खेत शाखाबाट आफ्नो रकम फिर्ता माग्ने बचतकर्ताको सङ्ख्या बढेको हो तर बचतकर्ताले रकम भने पाएका छैनन् ।

“दुई हजार रुपियाँको चेक साट्न माघ १८ गते आएको थिएँ । पैसा छैन २३ गते आउनु भनेर पठाउनुभयो । २३ गते आउँदा भोलि आउनु भन्नुभयो । आज (२५ गते) आएको चेक साट्ने ठाउँ बन्द छ । मुद्दा प-यो भन्नुहुन्छ,” बचतकर्ता नविता शाहीले भन्नुभयो ।

वीरेन्द्रनगर–४ का स्थानीय सावित्री परियारले पनि चेक साट्न तीन पटक धाउँदासमेत नगद रुपियाँ नपाएको गुनासो गर्नुभयो । उहाँका अनुसार उहाँले यो सहकारी संस्थामा बाल बचत र मुद्दती खातामा एक लाख १२ हजार रुपियाँभन्दा बढी रकम जम्मा गर्नुभएको छ । “छोराछोरीको नाममा बाल बचत खातामा पैसा जम्मा गरेको थिएँ । अहिले बचत रकम फिर्ता माग्दा दिनुभएको छैन,” उहाँले भन्नुभयो । 

करिब सात हजार बचतकर्ता रहेको यो सहकारीको सुर्खेत शाखामा बचत फिर्ता माग्न आउनेको सङ्ख्या दैनिक दुई/तीन सय जना रहेका छन् । सो सहकारी संस्थाको लेखा शाखा प्रमुख छवि डाँगीले सुर्खेतमा यसअघि दैनिक ६० देखि ९० लाख रुपियाँको कारोबार हुने गरेकामा अहिले सबै बचतकर्ताले रकम फिर्ता माग्न थालेपछि समस्या आएको बताउनुभयो । उहाँले भन्नुभयो, “सहकारीको सञ्चालक समितिको बैठक बसिरहेको छ । केही दिनमा निचोड निस्किएला ।” 

उक्त शिवशिखर सहकारीका बुटवल, कोहलपुरलगायतका शाखाबाट बचतकर्ताले रुपियाँ फिर्ता माग्न थालेपछि सुर्खेतमा पनि यो समस्या आएको लेखाप्रमुख डाँगीले बताउनुभयो ।