• १३ साउन २०८१, आइतबार

सत्ता साझेदारीलाई बलियो बनाउने निर्णय

blog

ललितपुर, माघ २७ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को सचिवालय बैठकले वर्तमान सरकार गठन भएपछि जनतामाझ व्यापक उत्साह सिर्जना भएको निष्कर्ष निकालेको छ । 

बुधबारको सचिवालय बैठकपछि उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सञ्चारकर्मीसँग कुराकानी गर्दै पार्टीको पहलकदमी र अग्रसरतामा वर्तमान सरकार गठनपछि मुलुकको आर्थिक, सामाजिक, सांस्कृतिकलगायत सबै क्षेत्रमा सकारात्मक प्रभाव देखिएको बताउनुभयो । उहाँले बैठकमा मुलुकमा राजनीतिक स्थायित्व र आर्थिक सुधारका लागि वर्तमान सत्ता साझेदारीलाई अझ बलियो बनाएर अगाडि बढ्ने निर्णय भएको जानकारी दिनुभयो । 

सचिवालय बैठकले सातवटै प्रदेशमा फागुन र चैत दुई महिनामा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । पार्टीलाई जरैदेखि मजबुत बनाउने उद्देश्यले सञ्चालन हुने सो अभियानमा देशका विभिन्न पालिकामा केन्द्रीय सदस्य खटिने उहाँले जानकारी दिनुभयो । बैठकले पार्टीको सदस्यता नवीकरण गर्ने, पार्टी प्रशिक्षण, स्थानीय जनप्रतिनिधि र पार्टीका प्रतिनिधिबीच सम्बन्ध सुव्यवस्थित गर्ने, विशेष योगदान गरेकालाई सम्मान गर्ने, पार्टीका बारेमा रायसुझाव लिनेलगायतका ११ वटा कार्यादेश (टीओआर) तोकेको छ । बैठकले प्रत्येक केन्द्रीय सदस्यलाई कम्तीमा तीनवटा पालिकामा भागमा परेको बताउँदै फागुन ५ गतेबाट सातवटै प्रदेशमा अभिमुखीकरण कार्यक्रम सुरु हुने उहाँले जानकारी दिनुभयो ।