• १२ मंसिर २०८१, बुधबार

अर्थतन्त्रलाई ड्राइभ गर्नसक्ने सक्षम नेतृत्व नहुँदा अर्थतन्त्रमा चुनौती : अध्यक्ष गोल्छा

blog

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा । तस्बिर : न्यूज एजेन्सी

काठमाडौं, माघ २५ गते । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रलाई ड्राइभ गर्नसक्ने सक्षम नेतृत्व नहुँदा अर्थतन्त्रमा समस्या आएको दाबी गर्नुभएको छ ।

महासङ्घले काठमाडौंमा मङ्गलबार आयोजना गरेको एक कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष गोल्छाले मुलुकको अर्थतन्त्रलाई ड्राइभ गर्ने सक्षम नेतृत्व नहुँदा अर्थतन्त्रमा चुनौती देखिएको बताउनुभएको हो ।

उहाँले नेतृत्वले अर्थतन्त्रमा आउने खतराको अनुमान पहिल्यै गर्न नसक्दा अर्थतन्त्र दुर्घटनामा परेको उल्लेख गर्नुभयो । अध्यक्ष गोल्छाले अर्थतन्त्रमा धेरै खाले स्पिड ब्रेकरहरू आएको भन्दै भूकम्प, कोभिडलगायतले सबैलाई असर परेको बताउनुभयो ।

अध्यक्ष गोल्छाले भन्नुभयो, ‘‘देशको अर्थतन्त्र अर्थ मन्त्रालयले ड्राइभ गरेको छ । अर्थ मन्त्रालयले ड्राइभ गरेको बसमा सरोकारवाला निकायहरू मन्त्रालयले ड्राइभ गरेको बसको गतिमा हिँडिरहेका छौँ । तीव्र गतिमा रहेको बसलाई अर्थ मन्त्रालयले ब्रेक लगाएको थियो । त्यहाँ विभिन्न खालका ब्रेकहरू थिए । त्यो पार गर्दै आएका थियौँ । तर, सबै ब्रेक स्टनल थिए । नेपालमा पहिलो पटक अर्थतन्त्रको इन्जिन बिग्रियो । बजारमा तरलता चरम अभाव भयो ।’’

अध्यक्ष गोल्छाले भूकम्प, कोभिडको बेलामा अर्थतन्त्रको क्षमताभन्दा बढी तीव्र गतिमा अगाडि बढ्न खोज्दा अर्थतन्त्रमा अहिलेको अवस्था भोग्नुपरेको धारणा औँल्याउनुभयो । अर्थतन्त्रलाई ड्राइभ गर्ने अर्थ मन्त्रालय र राष्ट्र बैङ्कको नेतृत्वले दूरदृष्टिले नहेर्दा अहिलेको अवस्था सिर्जना भएको उहाँको भनाइ छ । उहाँले अर्थतन्त्रमा सबैभन्दा चलाख बैंकर देखिएको उल्लेख गर्नुभयो ।

उहाँले बैंकरहरु अर्थतन्त्रमा समस्या आउनुभन्दा पहिला नै हामफाल्न सफल हुँदा बैङ्कहरू ठूलो दुर्घटनामा नपरेको दाबी गर्नुभयो । अर्थतन्त्र ड्राइभ गर्ने अर्थ मन्त्रालय र राष्ट्र बैङ्कले अर्थतन्त्र दुर्घटनामा पर्नुभन्दा पहिला नै ब्रेक हान्न सफल भएकाले अर्थतन्त्र दुर्घटना पर्नबाट जोगिएको पनि बताउनुभयो ।

‘‘अर्थतन्त्रको हिँड्ने बाटोको लिमिट ४.५ प्रतिशत रहेको छ तर अर्थ मन्त्रालय र राष्ट्र बैङ्कले अर्थतन्त्रलाई ९ प्रतिशतमा कुदायौँ । त्यो अर्थतन्त्रको बस अर्थमन्त्रालय र राष्ट्र बैङ्कले कुदाएको हो । कोभिडको समयमा धेरै सहुलियत दिइयो । त्यसमा उद्योगी व्यवसायीहरूले पनि ताली बजायौँ । गन्तव्यमा चाँडै पुगिने भयो भनेर रमायौँ । श्रीलङ्का, बङ्गलादेशमा र पाकिस्तानमा दुर्घटना भएको देखियो र बिस्तारै उकालो लाग्यौँ । उकालो लाग्दा ड्राइभ गर्ने अर्थ मन्त्रालय र राष्ट्र बैङ्कले एक्कासि ब्रेक लगाए ।,’’ अध्यक्ष गोल्छाले भन्नुभयो, ‘‘ब्रेक लगाउँदा सरकारले अर्थतन्त्र बच्यो तर उद्योगी व्यवसायीलाई कसले बचाउने ? अहिले व्यापार सन्तुलन र तरलता ठिक अवस्थामा आएको छ । तर पनि उद्योगी व्यवसायीहरू समस्यामा रहेका छन् । उनीहरूलाई नबँचाएसम्म अर्थतन्त्र अगाडि जान सक्दैन ।’’

सीसीडी रेसियोबाट सीडी रेसियो, आयात प्रतिबन्ध, चालु पुँजी कर्जासम्बन्धी नीतिले अर्थतन्त्र सङ्कटमा पर्नबाट जोगाए पनि अर्थतन्त्र चलायमान हुन सकेको छैन । गोल्छाले सरकारले अर्थतन्त्रमा ब्रेक लगाउँदा अर्थतन्त्र बचेँ पनि उद्योगी व्यवसायीहरूका हात खुट्टा भाँचिएको बताउनुभयो । सरकारले उद्योगी व्यवसायीहरूको हातखुट्टामा मलम लगाउन आवश्यक रहेको छ । अध्यक्ष गोल्छाले सरकारले उद्योगी व्यवसायीहरूको समस्या समाधान गरी अर्थतन्त्रलाई चलायमान बनाउन आवश्यक रहेको बताउनुभयो ।

‘‘अर्थतन्त्रलाई सरकारकाले चलायमान बनाउन जरुरी छ । यो यथार्थ हो । समयमा नै अर्थतन्त्रलाई ड्राइभ गर्ने चालकहरूले दुर्घटनालाई देख्नुपर्ने थियो । त्यहाँ राम्रो र नराम्रो चाकलमा भरपर्छ । राम्रो चालकले खतरालाई टाढाबाट नै देख्नसक्छ । सही समयमा दुर्घटना रोक्न तीव्रतालाई कम गर्छ ।,’’ अध्यक्ष गोल्छाले भन्नुभयो, ‘‘तर नराम्रो ड्राइभरले खतरा देखेपछि मात्रै ब्रेक हान्ने हो । हाम्रो अर्थतन्त्रमा त्यही भयो एक्कासि ब्रेकर लग्यो । यहाँ राम्रो ड्राइभर भएर दुर्घटना हुने थिएन । ब्रेक लगाउनुभन्दा पहिला उद्योगी व्यवसायीहरूलाई सचेत गर्न सक्नुपर्ने थियो । सरकार र राष्ट्र बैङ्कभन्दा चलाख बैङ्कहरू भए । सहचालक चलाख थियो, उ दुर्घटना हुन्छ भनेपछि हाम फालिहाल्यो । अगाडि ब्रेक हान्न भ्याइहालियो र मात्र । नत्र अर्थतन्त्र दुर्घटनामा पर्ने थियो । अर्थतन्त्रको ड्राइभिङ सिट अर्थ मन्त्रालयको हो ।’’

अध्यक्ष गोल्छाले सहकारी र लघुवित्तमा तरलता सहज नहुँदासम्म अर्थतन्त्र चलायमान हुन नसक्ने बताउनुभयो । उहाँले तल्लो तहमा तरलता सहज नहुँदासम्म बजारमा माग नबढ्ने र माग नबढ्दासम्म बजारमा आर्थिक गतिविधि बढ्न नसक्ने दाबी गर्नुभयो । पछिल्लो समय बजारमा माग कम हुँदै गएकाले माग नबढ्दासम्म आयात बढ्न नसक्ने उल्लेख उहाँले गर्नुभयो ।

अध्यक्ष गोल्छाले आयात नबढेको अवस्थामा सरकारले लक्ष्यअनुसार राजश्व सङ्कलन गर्न नसक्ने बताउनुभयो । सरकारले अर्थतन्त्र जोगाउनेतर्फ मात्रै नलागेर अर्थतन्त्र चलायमान बनाउन तल्लो तहसम्म तरलता सहज हुने वातावरण बनाउन आवश्यक छ । गोल्छाले ‘क’ वर्गका वाणिज्य बैङ्कले मात्रै नभई सहकारी र लघुवित्त संस्थाबाट सहजै कर्जा लिन मिल्ने वातावरण बनाएर अर्थतन्त्र चलायमान बनाउन आवश्यक रहेको बताउनुभयो । अहिले विदेशी मुद्राको सञ्चितिमा सुधार, शोधानान्तर स्थिति बचत भएको जानकारी दिनुभयो ।

अध्यक्ष गोल्छाले नेपालको जिडिपीभन्दा धेरै ऋण प्रवाह भएपनि वित्तीय क्षेत्रमा जोखिम नरहेको बताउनुभयो । उहाँले नेपालको वित्तीय क्षेत्रले अर्थतन्त्रको आकारभन्दा बढी ऋण प्रवाह गरेपनि उत्पादनमूलक क्षेत्रमा लगानी नभएको सङ्केत गर्नुभयो । उहाँले बैङ्कको धेरै कर्जा व्यापारिक प्रयोजनमा गएको भन्दै ऋण पनि धितोमा आधारित भएकाले जोखिम नभएको बताउनुभयो ।