• १६ कात्तिक २०८१, शुक्रबार

लामिछानेको अभिव्यक्तिप्रति महासङ्घको आपत्ति

blog

काठमाडौँ, माघ २३ गते । नेपाल पत्रकार महासङ्घले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पत्रकार सम्मेलनमा दिनुभएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । महासङ्घका महासचिव रोशन पुरीले आइतबार विज्ञप्ति जारी गर्दै लामिछानेले नेपाली सञ्चार क्षेत्रप्रति आधारहीन र पूर्वाग्राही आरोप लगाउँदै धम्कीपूर्ण अभिव्यक्ति दिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर प्रहार भएको बताउनुभएको छ । 

महासचिव पुरीले भन्नुभएको छ, “संसद्को चौथो ठूलो दलका अध्यक्ष एवं उपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहिसकेका व्यक्तिले सञ्चार क्षेत्रप्रति संयम गुमाएर अभिव्यक्ति दिनु समग्र सञ्चार क्षेत्रमाथिको प्रहार हो ।” सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीको नामै लिएर सार्वजनिक रूपमा धम्की दिइनुले नेपालका सञ्चार प्रतिष्ठान र सञ्चारकर्मी असुरक्षित हुन सक्ने तथ्यप्रति महासङ्घले चिन्ता प्रकट गरेको विज्ञप्तिमा उल्लेख छ ।

“लामिछानेको अभिव्यक्तिले कुनै अप्रिय घटना भएमा त्यसको जिम्मेवारी स्वयं अध्यक्ष लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीले लिनुपर्नेमा महासङ्घ प्रस्ट पार्न चाहन्छ,” विज्ञप्तिमा भनिएको छ ।

यसैगरी नेपाल प्रेस युनियनले पनि पूर्वगृहमन्त्री लामिछानेको अभिव्यक्तिको विरोध गरेको छ । महासचिव दिलीप पौडेलले विज्ञप्ति जारी गर्दै लामिछानेले आफ्ना कमीकमजोरी ढाकछोप गर्न सञ्चारमाध्यम, सञ्चारकर्मी र समग्र पत्रकारिता क्षेत्रलाई बदनाम गर्ने ध्येयले प्रमाणहीन आरोप लगाएको बताउनुभएको  छ । 

विज्ञप्तिमा भनिएको छ, “पूर्वसञ्चारकर्मी लामिछानेले कुनै आधार र प्रमाणबिना सञ्चारमाध्यम, सम्पादक र समग्र पत्रकारितालाई बदनाम गर्ने गरी दिएका अभिव्यक्ति खेदजन्य छन् । आमनागरिकबाट जनमत प्राप्त गरेर आएका एक राजनीतिकर्मीले दिएका अभिव्यक्ति अपरिपक्व र अराजनीतिक छन् ।”