काठमाडौँ, माघ २३ गते । परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का गतिविधिलाई सक्रिय बनाउने र सार्क मुलुकबीच आपसी छलफल, सहकार्य र सम्पर्क सञ्जाल विस्तार गर्नुपर्ने विषयमा जोड दिनुभएको छ ।
श्रीलङ्का भ्रमणमा रहँदा सार्क मुलुकका परराष्ट्रमन्त्रीहरूसँगको भेटवार्ताका क्रममा दक्षिण एसियाली मुलुकहरू जलवायु परिवर्तनको जोखिममा रहेको सन्दर्भमा आगामी जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२८)मा यस क्षेत्रको साझा आवाज बनाउनका लागि अनौपचारिक सञ्जाल स्थापना गर्न आग्रह गरेको जानकारी मन्त्री पौड्यालले दिनुभयो ।
श्रीलङ्का भ्रमण सकेर स्वदेश फर्कनुभएकी मन्त्री पौड्यालले त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गरी भारतका विदेश राज्यमन्त्री, बङ्गलादेश, माल्दिभ्स र श्रीलङ्काका विदेशमन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता गरी सार्कलाई सक्रिय बनाउने विषयमा जोड दिएको बताउनुभयो । बङ्गलादेशसँग ऊर्जा, व्यापार र माल्दिभ्ससँग नेपाली चिकित्सक र नर्स पठाउने विषयमा कुराकानी भएको उहाँले बताउनुभयो ।
श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन त्यहाँ पुग्नुभएका मन्त्री पौड्यालले त्यहाँ विभिन्न उच्चस्तरीय भेटवार्तासमेत गरी दुई पक्षीय हितका विषयमा छलफल गरेको जानकारी दिनुभयो ।
राष्ट्रपति रणिल बिक्रमासिङ्घे र प्रधानमन्त्री दिनेश गुणबद्र्धनेसँग दुई देशबीचको आपसी हित र चासोका साथै भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलसँग हवाई सम्पर्क विस्तार, दुई देशबीच सांस्कृतिक आदान–प्रदान, नेपालमा बौद्ध दर्शनको अध्ययनलगायतका विषयमा सहकार्यका लागि आग्रह गरेको उहाँले जानकारी दिनुभयो ।