• ११ मंसिर २०८१, मङ्गलबार

मजदुरमा नसर्ने रोगको समस्या पहिचान

blog

म्याग्दी समाचारदाता

म्याग्दी, माघ २२ गते । म्याग्दी जिल्लाको विभिन्न क्षेत्रमा कार्यरत मजदुर तथा श्रमिक महिलामा नसर्ने रोगको समस्या देखिएको छ। बेनी अस्पताल, जिल्ला स्वास्थ्य कार्यालय र नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले संयुक्त रूपमा सञ्चालन गरेको स्वास्थ्य शिविरमा सो समस्या देखिएको हो। 

सदरमुकाम बेनीमा आयोजित नसर्ने रोगको पहिचान र परामर्श शिविरमा सेवा लिन आएका १९० जना श्रमिक महिलामध्ये ४१ जनामा रोग पहिचान भएको जानकारी दिइएको छ। बेनी अस्पतालका मेडिकल अधिकृत डा. रामु सापकोटाका अनुसार २२ जनामा रक्तचाप, सात जनामा मधुमेह, आठ जनामा पाठेघरमा क्यान्सरको सम्भावना र चार जनामा पिसाबमा सङ्क्रमण पहिचान भएको छ।

स्थानीय श्रमिक महिलामा स्वास्थ्य समस्या भए पनि परीक्षण र रोग निदानका लागि कुनै प्रयास नभएको भनाइ उहाँको छ। श्रमिकको मानसिकता नै रोग पालेर राख्ने भएकाले स्वास्थ्य शिविर आयोजना गरिएको जनाइएको छ। स्वास्थ्य कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालले यस क्षेत्रमा कार्यरत मजदुरमा भएको रोग तथा स्वास्थ्य समस्या पहिचानका लागि शिविर आयोजना गरिएको बताउनुभयो। उच्च रक्तचापको समस्या देखिएका २२ जना महिलालाई तुरुन्तै औषधि सेवन सुरु गर्न चिकित्सकले सल्लाह दिएको छ। मधुमेहका शङ्कास्पद अर्थात् ब्लड सुगरका बिरामीले पनि चिकित्सकको सल्लाहबमोजिम नियमित निगरानीमा औषधि प्रयोग गर्नुपर्ने भएको छ। पाठेघरको मुखको क्यान्सरको शङ्का लागेका बिरामीलाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ। १९० जनाले स्वास्थ्य सेवा लिएको भए पनि त्यसमा १६८ जना महिलाले पाठेघरको मुखको क्यान्सर छ कि छैन भनेर भीआईए परीक्षण गराएका थिए।

‘श्रमको सम्मान र मर्यादित काम, सामाजिक सुरक्षा कार्यान्वयन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको जिफन्ट म्याग्दीका अध्यक्ष राजकुमार राईले बताउनुभयो। श्रमको क्षेत्रमा रहेका महिला तथा पुरुषले आफूमा हुने स्वास्थ्य समस्यालाई नदेखाउने र जटिल अवस्था पुगेपछि मात्रै अरूले थाहा पाउने हुँदा आर्थिक तथा भौतिक रूपमा पनि क्षति बेहोर्नु पर्ने अवस्था सिर्जना हुने गरेको छ।  उहाँले नसर्ने रोगको पहिचानका लागि शिविर आयोजना गरिएको क्युपेक नेपाल केन्द्रीय सचिव बलादेवी राईले बताउनुभयो। शिविरबाट प्रत्यक्ष श्रमको क्षेत्रमा रहेका महिलाले सेवा लिन पाएको र लक्षित वर्गको स्वास्थ्य परीक्षणमा शिविर प्रभावकारी भएको बताइएको छ।