• १६ चैत २०८०, शुक्रबार

धानसँग साटियो सुन्तला

blog

राजु लामिछाने

रुकुमपश्चिम, माघ २२ गते । रुकुमपश्चिमका केही किसानले उत्पादन गरेको सुन्तलाले बजार नपाएपछि कतै धानसँग साटेका छन् भने कतै कम मूल्यमै पनि बिक्री गरेका छन् ।

यस जिल्लाको बाँफीकोट गाउँपालिका–६, स्यालाका किसानले धान र सुन्तला साटासाट गरेका छन् भने मुसीकोटका नगरपालिका–१० का किसानले सस्तोमै बेचेका छन् । आफ्नो बारीमा फलेको अन्नले मात्रै वर्षभरि खाना नपुग्ने भएकाले सुन्तला खेती गरेको तर सुन्तलाले बजार नपाएपछि धानसँग साट्नुपरेको बाँफीकोट गाउँपालिका–६ का किसान मनबहादुर कुसारीले बताउनुभयो । 

सोही गाउँकी पुष्पा खड्का खत्रीले १० कट्ठा धानसँग आफ्नो बारीको सुन्तला साटेको बताउनुभयो । “मेरो बारीमा धान फल्दैन, सुन्तला राम्रै फल्छ, धान दिनेको बारीमा सुन्तला फल्दैन, धान फल्छ । त्यसैले सुन्तलासँग धान साट्नु परेको हो,” खत्रीले भन्नुभयो । सुन्तला बिक्री नभएर खेर फाल्नुभन्दा गाउँमै उब्जेको अन्नसँग साट्नु राम्रो ठानेर धान र सुन्तला साटासाट गरेको उहाँले बताउनुभयो । 

स्याला गाउँका करिब ३० घरले यसैगरी सुन्तला र धान साटासाट गरेका छन् । सुन्तला उत्पादन गरिरहेका १० किसान र धान उत्पादन गरिरहेका २० किसानबीच यो साटासाट भएको हो । वस्तु साटासाट (विनिमय) पहिले धेरै हुन्थ्यो । मुद्राको प्रयोग हुन थालेपछि यो घटेको भए पनि अझै पनि गाउँघरमा वस्तु (सेवा)मा साटासाट हुने प्रचलन छ । वस्तुको मूल्यमा अन्तर रहे पनि वस्तु साटासाटले ग्रामीण जीवनशैलीमा आत्मीयता जोगाइराख्ने स्थानीय नरमा पुनले बताउनुभयो । 

किसानका उत्पादनले समयमै बजार नपाउनु दुर्भाग्य रहेको विचार व्यक्त गर्दै पुनले स्थानीय सरकारले सङ्कलन केन्द्र तथा चिस्यान केन्द्र निर्माण गरेर बजारको खोजी गर्न पहल गरिदिनुपर्ने बताउनुभयो । 

बाँफीकोट गाउँपालिकाका कृषि शाखा प्रमुख लोकेन्द्र ओलीका अनुसार यस वर्ष बाँफीकोटमा मात्रै साढे ४२ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । यसमध्ये साढे छ मेट्रिक टन सुन्तला धानसँग साटिएको छ भने ३६ मेट्रिक टन सुन्तला बिक्री भएको तथ्याङ्क गाउँपालिकामा छ । 

कृषि शाखा प्रमुख ओलीले सुन्तला उत्पादक किसानले प्रतिकेजी सरदर ५० रुपियाँको दरले बिक्री गरेको सुन्तलाबाट १८ लाख रुपियाँको आम्दानी गरेको बताउनुभयो । बाँफीकोट गाउँपालिका–३, निपाने, वडा नं. ६ स्याला, जिप्सिङ, वडा नं. ७ को दुलिङ्गा, वडा नं. ८ को दुली, हलबाँधे, वडा नं. ९ को झुलागाउँ, वडा नं. १० को जारे, सजेलगायतका गाउँमा बढी मात्रामा सुन्तला खेती हुने गरेको छ । 

अहिले रुकुमपश्चिमका विभिन्न बजार क्षेत्रमा प्रतिकिलो ८० देखि एक सय रुपियाँसम्ममा सुन्तला बिक्री हुने गरेको छ । तर, गाउँमा उत्पादन भएका सुन्तलाले उचित बजार नपाउँदा सस्तोमै बेच्नुपरेको किसानको गुनासो रहेको छ । 

चिस्यान केन्द्र नहुँदा किसानलाई जसरी पनि सुन्तला बिक्री गर्नुपर्ने बाध्यता रहेकाले व्यापारीले तोकेकै मूल्यमा सुन्तला दिन बाध्य भएको मुसीकोट नगरपालिका–१० का किसान झुपलाल खड्काले बताउनुभयो । 

दाङबाट सुन्तला लिन आएका व्यापारीलाई प्रतिकिलो २५ रुपियाँका दरले बारीका सबै सुन्तला बिक्री गरेको खड्काले बताउनुभयो । उहाँले यो दरमा नौ क्विन्टल सुन्तला बेच्नुभयो । गाउँबाट बजार टाढा रहेको र गाउँमै बढी मूल्य लिनसक्ने अवस्था नभएपछि सस्तोमै बेच्नुपरेको उहाँले बताउनुभयो । 

सुन्तला भण्डारण तथा चिस्यानको समस्याका कारण सस्तोमा सुन्तला बिक्री गर्नुपर्ने बाध्यता रहेको मुसीकोट नगरपालिका–१० का वडाध्यक्ष धनबहादुर खड्काले बताउनुभयो । बारीका सुन्तला कुहिएर खेर जानुभन्दा सस्तोमा नै बिक्री गरिएको हो । 

गाउँमा राम्रो सुन्तला फलेपछि वडाकै पहलमा गाउँमा व्यापारी पुगेका थिए । आगामी दिनमा वडामै चिस्यान केन्द्र बनाउने योजना रहेको वडाध्यक्ष खड्काले उल्लेख गर्नुभयो ।