• ८ पुस २०८१, सोमबार

व्यापारिक भवन सञ्चालन

blog

लहान समाचारदाता

लहान, माघ २२ गते । लहान नगरपालिका–१, मुख्य चोकस्थित तरकारी बजारमा सिङ्ग्राही मटियर्वा ‘सपिङ कम्पलेक्स’ भवन सञ्चालनमा ल्याउने तयारी थालिएको छ। नगरप्रमुख महेशप्रसाद चौधरीले चार करोड ७० लाख रुपियाँको लागतमा निर्मित भवन सञ्चालनमा ल्याउने तयारी थालिएको जानकारी दिनुभयो।

दुईतले भवनमा भुइँ तलामा २१ कोठा र माथिल्लो तलामा ११ कोठा रहेको छ । नगरप्रमुख चौधरीले बिहीबार भवन उद्घाटन समारोहमा चोकको अव्यवस्थित तरकारी बजार व्यवस्थापन र अन्य व्यापारी प्रयोजनका लागि कम्प्लेक्स प्रयोगमा ल्याउन लागिएको जानकारी गराउनुभयो। उहाँले थप्नुभयो, “कम्पलेक्स भवनको अगाडिको भागमा रहेको खाली जग्गामा ४३ लाख रुपियाँको लागतमा सौन्दर्यीकरण गरी मोटरसाइकल पार्किङ व्यवस्थित गरिनेछ।” 

पूर्वनगरप्रमुख मुनि साहले लहानमा मुसहर समुदायका कुल देउता दिनाभद्रीको नामबाट राखिएको भवनको नाम बदलिएर सिङ्ग्राही मटियर्वा कम्पलेक्स भवन नामकरण गर्नु बेइमानी भएको बताउनुभयो। नाम बदलेर उद्घाटन गर्नु सरासर गलत भएको नेकपा (एमाले) लहान नगर कमिटीका अध्यक्ष राजकुमार साहले विरोध जनाउनुभयो।