• ११ वैशाख २०८१, मङ्गलबार

गजलकार प्रदीप मैनालीसँग भिडियो कुराकानी

कसरी फुर्यो ‘के लत् बस्यो मलाई‍..’

blog

काठमाडौं, माघ २१ गते। 

के लत् बस्यो मलाई कहिले सुधार हुन्छ

एकदिन तिमी नबोल्दा यो दिल बिमार हुन्छ।

साथी रहेछ दुख, हरपल सवार हुन्छ

सुख पाहुना रहेछन्, छुट्नै हतार हुन्छ

के लत बस्यो मलाई

तीन साताअघि युट्युबमा सार्वजनिक भएको यो गजल अहिले निकै चर्चामा छ। सामाजिक सञ्जाल टिकटक, युटुयुव लगायत सबैमा आजभोलि यही गजल गुन्जिरहेको सुनिन्छ। गजलले युट्युबमा ३८ लाख बढी भ्युज पाएको छ। गजलको शब्ददेखि सङ्गीत र आवाजको चौतर्फी तारिफ भइरहेको छ। जुन सफलता देखेर अचम्मित र दंग हुनुहुन्छ गजलकार प्रदीप मैनाली। 

पेशाले अर्थशास्त्री मैनालीको शोख हो साहित्य। १२ वर्षदेखि निरन्तर रुपमा गजल, सायरी, मुक्तकमा कलम चलाउँदै आउनुभएका मैनालीले दुई वटा गजल संग्रहसमेत बजारमा ल्याइसक्नुभएको छ। 

यसअघि मैनालीका केही गजल जस्ता गजल सामाजिक सञ्जालमा लोकप्रिय बनेको भएता पनि ‘के लत बस्यो’ले नै दर्शकसामु आफूलाई चिनाएको उहाँ बताउनुहुन्छ। “गजल एक काव्यिक विधा हो। गजलका धेरै प्राविधिक पक्ष हुन्छन्। साहित्य लेखनमा सबैभन्दा प्राविधिक विषय गजल नै हो,” उहाँ भन्नुहुन्छ “बिना गहन अध्ययन गजल लेख्न सम्भव हुँदैन।” 

प्राविधक विषयवस्तुभित्र रहेर आफ्ना भावना त्यस फ्रेममा हालेर प्रस्तुति गर्न त्यति सजिलो नहुने गजलकार मैनाली बताउनुहुन्छ। “गजलमा शब्दको चयनका क्रममा आफ्नो अन्तर मनमा उब्जिएका भावना, आफूले भोगेका जीवनका दुख सुखका कठिनाइ, प्रेम र संघर्षले दिएका परिणामबाट उब्जिएका शब्दहरु हुन्”, उहाँले भन्नुभयो।

उहाँलाई गजलमा आफैले शब्द चयन गर्ने भन्दा पनि गजल लेखिरहँदा कहिकतै अन्तरशक्ति नीहित हुन्छ जस्तो महसुस हुन्छ। उहाँ भन्नुहुन्छ, “म आफैंले गरें भन्दा पनि त्यो कुनै अदृश्य शक्ति हो जसको पछाडि यी शब्दहरु लिपिबद्ध गर्ने अर्को शक्ति हुन्छ।” 

गजलमा प्रत्येक शेरको आफ्नै अभिव्यक्ति हुने गजलकार मैनाली बताउनुहुन्छ। गजलका शेरहरु एकसँग अर्को अन्तरसम्बन्धित हुनुपर्छ भन्ने जरुरी छैन। ‘के लत बस्यो’ लाई कलात्मक रुपमा प्रस्तुत गर्न मिहिनेत लागेको र पटकपटक निखारेर मात्रै सङ्गीतबद्ध गरेर दर्शकसामु पेश गरेको उहाँ बताउनुहुन्छ।

नेपालमा गजललाई गजल जसरी नै सङ्गीत दिने व्यक्तिको खाँचो रहेको मैनालीको अनुभव छ। यही गजललाई सङ्गीत दिनका लागि कयौं सङ्गीतकार भेट्नुभएका मैनालीलाई गजलको शब्द वा बाहिरी आवरण अनुसार गीत जस्तो संकलन गर्ने गरेकोमा गुनासो छ। “गजलमा सङ्गीत दिँदा पनि गीत जस्तै गाउँने चलन छ नेपालमा,” उहाँले भन्नुभयो।

यसका साथै गायक तथा सङ्गीतकार तिलक सिंह पेलाकै कारण ‘के लत बस्यो’ चर्चित भएको सुनाउनुहुन्छ प्रदीप। उहाँ भन्नुहुन्छ, “के लत बस्योलाई मैले एउटा रचनामात्रै गरेको हुँ। उहाँको संगीत र स्वरबिना यो सम्भव थिएन। उहाँ काव्यिक चेतसमेत भएका व्यक्तित्व हुनुहुन्छ।”

मैनाली थप्नुहुन्छ, “पेलाले सुनाउनुभएको तीन वटा सङ्गीतबाट हामीले यो धुन छानेका थियौं। जसले एकदमै चर्चा पायो। यो गजलले यत्तिको चर्चा पाउँला भनेर हामीले सोचेका थिएनौं तर नेपालमा गजल ठ्याक्कै यस्तो हुनुपर्छ भनेर गजलकार वा साधकका लागि यो मास्टर पिस बन्नेमा हामी ढुक्क थियौं।” 

त्रिभुवन विश्वाविद्यालयबाट अर्थशास्त्रमा पिएचडी गर्नुभएका मैनालीलाई लेखनमा व्यवसायिक रुपमा लाग्ने इच्छा भने छैन। “गजल योजना र सोचले आउने हैन। गजल व्यवसायिक रुपमा उत्पादन गर्न खोजेको हो भने त्यो योजना हुन्थ्यो। तर मेरा लागि यो विशुद्ध भावना हो। म निरन्तर रुपमा कला र भावनका विषय तथा आफ्ना मनका भावनालाई सकेसम्म पस्किनेमा लागिरहनेछु,” उहाँले भन्नुभयो।  यो चर्चित गजलका गजलकार प्रदीप मैनालीसँग सनम महर्जन, मनोजरत्न शाही र केशब गुरुङले गोरखापत्र अनलाइनका लागि गर्नुभएको कुराकानीका आधारमा तयार पार्नुभएको भिडियो वार्ता :