• १५ वैशाख २०८१, शनिबार

मह उत्पादन घट्यो

blog

खलङ्गा समाचारदाता 

जाजरकोट, माघ २१ गते । दुई वर्षअघि जाजरकोटको सदरमुकाम खलङ्गासहित आसपासका बजारमा पाइने कात्तिकेमह अहिले किन्न पाइँदैन । कात्तिकेमह उत्पादन नै घटेका कारण बजारमा भेटिन छोडेको हो ।

नलगाड नगरपालिका कृषि शाखाका प्रमुख बालकृष्ण आचार्यले अघिल्लो वर्षभन्दा यो वर्ष महको उत्पादन घटेको बताउनुभयो । असोज महिनामा भएको बेमौसमी वर्षाले चिउरीको फूल झारेको र रस बगाएकाले मह उत्पादन घटेको उहाँले बताउनुभयो । 

बर्सेनि ३५ मेट्रिक टन उत्पादन हुँदै आएको मह यस वर्ष पाँच मेट्रिक टन ५० क्विन्टल मह उत्पादन भएको छ । गत वर्षको तुलनामा ८५ दशमलव ७२ प्रतिशत मह उत्पादन घटेको कृषि विकास कार्यालयका प्रमुख रविन धितालले बताउनुभयो । 

मौरी प्रवद्र्धनका लागि तीनवटा सरकारले लगानी गरे पनि मह उत्पादन घटिरहेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले मौरी जोन कार्यक्रम सञ्चालन गरी नलगाड नगरपालिका–१ को पाली, कल्पत, डाँडागाउँ, लहँ, भेरी नगरपालिका–१ को पिमे मैदे गाउँलाई मह पकेट क्षेत्र घोषणा गरी अनुदान वितरण गरेको छ । तर, मह उत्पादन वृद्धि गरी अर्गानिक मह जिल्ला घोषणा गर्ने लक्ष्य लिएका तीनवटा सरकारी कार्यालयले खर्च गरेको बजेट बालुवामा पानी हाले जस्तै भएको छ । 

कृषि विकास कार्यालयका प्रमुख रविन धितालले मौरी प्रवद्र्धनका लागि प्रदेश सरकारबाट १५ लाख रुपियाँ प्राप्त भएकोमा पाँच लाख रुपियाँ लक्षित कार्यक्रमअन्तर्गत उपभोक्तासँग सम्झौता भएको जानकारी दिनुभयो । बाँकी १० लाख रुपियाँ कार्यालयले आवश्यकताका आधारमा खर्च गर्ने बताइएको छ । 

मौरी ब्लकमा खर्च गर्न सङ्घीय कार्यक्रमबाट गत वर्षका कार्यक्रमको निरन्तरताका लागि १६ लाख रुपियाँ प्राप्त भएकोमा संशोधनका लागि फिर्ता गरेको कार्यालय प्रमुख धितालले बताउनुभयो । मौरी तथा मह उत्पादनलाई प्रवद्र्धन गर्न सङ्घीय तथा प्रदेश सरकारबाट ३१ लाख रुपियाँ प्राप्त भएको छ । 

महको उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानलाई आत्मनिर्भर बनाउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोनले लगानीअनुसार प्रतिफल छैन । वितरणमुखी अनुदानबाट मौरी जोनबाट प्र्रतिफल निकाल्न नसकिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइका प्रमुख दीपेन्द्र पोखरेलले बताउनुभयो ।

तीन वर्षअघि जाजरकोटको मह काठमाडौँलगायत विदेश पनि पठाइएको थियो । यतिबेला जाजरकोटका बजारमा डाँडागाउँ, पाली, कल्पत, मैदे, पिपेको मह भन्दै कृत्रिम मह बिक्री वितरण गरेको पाइन्छ । 

महबाट वार्षिक १० लाखभन्दा बढी आम्दानी गर्दै आएका पाली, कल्पत, भेरी नगरपालिका मैदे, पिपेका किसान यो वर्षमा महको उत्पादनबाट आम्दानी गर्न सकेका छैन । नलगाड नगरपालिका १, २, ३, ४ र ५ भेरी नगरपालिका–१ र २ कुशे गाउँपालिका–५ मा आव २०७६÷७७ देखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मौरी जोन सञ्चालन भएको छ ।