• ८ वैशाख २०८१, शनिबार

मल आयात गर्न आठ अर्ब माग

blog

काठमाडौँ, माघ २१ गते । कृषि सामग्री कम्पनी लिमिटेडले आगामी धान बालीका लागि आवश्यक पर्ने रासायनिक मल खरिद गर्न थप सात अर्ब ७५ करोड रुपियाँ माग गरेको छ । 

धान बालीमा मलको आपूर्ति सहज बनाउन ९० हजार मेट्रिक टन रासायनिक मल खरिद गर्न सात अर्ब ७५ करोड रुपियाँ बजेट माग गरेको हो  । 

कम्पनीले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा रकमको स्रोत सुनिश्चत गर्न पत्राचार गरेको हो । कम्पनीका निमित्त प्रबन्धक राजेन्द्र कार्कीले हिउँदे बालीका लागि मल पर्याप्त भए पनि धान बालीका लागि अभाव हुने भएकाले मल आयात गर्न उक्त रकम माग गरिएको जानकारी दिनुभयो । 

“ग्लोबल टेन्डर आह्वान गरेर मल ल्याउन साढे सात महिना लाग्छ, थप ९० हजार मेट्रिक टन मलको खरिद गर्न अर्थ मन्त्रालयले स्रोत सुनिश्चित नगरे धान खेतीमा मलको अभाव हुन्छ,” कार्कीले भन्नुभयो । चालू आर्थिक वर्षको साउनदेखि हालसम्म एक लाख ९० हजार मेट्रिक टन मल आयात भएको कम्पनीले जनाएको छ । 

सरकारले मल खरिद गर्न चालू आर्थिक वर्षको बजेटमा १५ अर्ब रुपियाँ विनियोजन गरेको थियो । थप १६ अर्ब रुपियाँको स्रोत अर्थ मन्त्रालयले सुरक्षित गरिसकेको छ । 

मल खरिदका लागि ३१ अर्ब रुपियाँ बजेट सुनिश्चित हुँदा यसले तीन लाख २४ हजार पाँच सय मेट्रिक टन रासायनिक मल खरिद गर्न पुग्ने मन्त्रालयले जनाएको छ । यसले आगामी वैशाख महिनासम्मका लागि मात्र पुग्ने हुँदा थप ९० हजार मेट्रिक टन मल खरिद गर्न थप रकम  माग गरिएको कम्पनीले जनाएको छ । ग्वोबल टेन्डरबाट स्विस सिङ्गापुर कम्पनीले ल्याउन लागेको ३० हजार मेट्रिक टन मल कोलकात्ताबाट लोडिङ भइसकेकाले केही दिनमै आइसक्ने कम्पनीले जनाएको छ । यस्तै कम्पनीले २० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपीका लागि एक–दुई दिनमै ग्लोबल टेन्डर गर्न लागेको जनाएको छ ।

जीटुजीको मल वितरण गरिँदै

मल आपूर्तिका लागि भारत र नेपाल सरकारबीच (जीटुजी) भएको सम्झौताअनुसारको पहिलो चरणमा ३० हजार छ सय मेट्रिक टन युरिया आयात भएको छ । 

जीटुजीमार्फत आयात गरिएको मल कम्पनीले मुलुकभर रहेका ४१ वटा बिक्री केन्द्रबाट बिक्री सुरु गरेको कम्पनीले जनाएको छ । मल आयातका लागि भएको सम्झौताअनुसार नेपाललाई वार्षिक कम्तीमा एक लाख मेट्रिक टन युरिया तथा ५० हजार टन डीएपी मल उपलब्ध गराउने गरी गत वर्ष फागुन दोस्रो साता भारत र नेपाल सरकार–सरकार बीच (जीटुजी) समझदारीपत्रमा हस्ताक्षर भएको थियो । 

जीटुजीको मल पहिलो चरणमा एक लाख ४० हजार मेट्रिक टन आयात गर्ने सम्झौताअनुसार ३० हजार छ सय मेट्रिक टन आयात भए पनि बाँकी मल आयात गर्न भारतलाई अर्डर आदेश दिनुपर्छ ।  

निमित्त प्रबन्धक कार्कीले भन्नुभयो, “अहिले अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य घटेको छ, मन्त्रालयले तत्काल अर्डर गर्न आदेश दिन सके बढी परिणाममा मल आयात गर्न सकिन्छ ।” 

ग्लोबल टेन्डर आह्वान गरेर मल आयात गर्दा समय लाग्ने हुँदा तत्काल मन्त्रालयले जीटुजीको मल आयात गर्न प्रक्रिया अगाडि बढाए एक डेढ महिनामै मल आयात हुने उहाँले बताउनुभयो । गत वर्ष यतिबेला अन्तर्राष्ट्रिय बजारमा प्रतिक्विन्टल युरियाको मूल्य एक हजार दुई सय रुपियाँ रहेकामा अहिले घटेर ५३० रुपियाँ रहेको छ । यस्तै गत वर्ष एक हजार तीन सय रुपियाँ रहेको डीएपीको मूल्य हाल घटेर ८४० रुपियाँ रहेको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य घट्दै गएको छ । 

मुलुकमा वार्षिक पाँच लाख २० हजार मेट्रिक टन मलको माग भए पनि मागअनुसार आयात नहुँदा बर्सेनि अभाव हुने गरेको छ । समयमा मल आयात नहुँदा धान रोप्ने बेला प्रत्येक वर्ष किसानले अभाव खेप्नुपरेको छ । धान बालीका लागि मात्र एक लाख ८० हजार मेट्रिक टन मल आवश्यक पर्ने मन्त्रालयको तथ्याङ्क छ । धान, मकै, गहुँ, उखु, तरकारीलगायतका बालीमा रासायनिक मल प्रयोग हुने गर्छ । 

कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट टे«डिङ कर्पाेरेसनले मल आयातको अनुमति पाएका छन् । विभिन्न सहकारी संस्थामार्फत बजारमा मलको वितरण हुने गरेको छ । हिउँदे बालीका लागि नियमित रूपमा मलको वितरण भइरहेकाले अभाव नहुने कम्पनीले जनाएको छ । मल मौज्दात रहेको र नियमित रूपमा आयात भइरहेकाले हिउँदे बालीका लागि मल अभाव नहुने कम्पनीले जनाएको छ । 

बजारमा युरियाको बिक्री मूल्य प्रतिकेजी ४५ रुपियाँ, डीएपी प्रतिकेजी १५ रुपियाँ र पोटास प्रतिकेजी ३२ रुपियाँ रहेको छ ।