• १६ चैत २०८०, शुक्रबार

व्यापार तथा समृद्धिका लागि पुजिने भिन्द्यः

blog

काठमाडौँ, माघ २० गते । माघ शुक्ल द्वादशी (भिं द्वादशी) बिहीबारका दिन भीमसेनको पूजा अर्चना गरी मनाइएको छ। 

भिमा द्वादशीका रूपमा पनि मानिने यस दिन नेवार समुदायमा भीमसेनको पूजा गरी समेय्बजी खाने चलन रही आएको छ। भिन्द्यः र भीमसेन एकै हो वा फरक हुन् भन्ने विषयमा दुईमत रहे तापनि यस दिन सबैले समान रूपमा पूजा गर्ने गर्दछन्। विशेष गरी व्यापार तथा समृद्धिका लागि पुजिने भिन्द्यः (भीमसेन) भिमा एकादशी अर्थात् एक दिनअगाडि व्रत बस्ने मान्यता रहेको संस्कृतविद् ओम धौभडेलले जानकारी दिनुभयो। उहाँले भिमा एकादशीका दिनमा भीमसेनका मन्दिरहरूमा विशेष पूजा गरी भोलिपल्ट अर्थात् भिं द्वादशीको दिन घर, मन्दिर तथा पसलहरूमा चोखो भई समय्बजी राखेर भव्य पूजा गरी घरमा प्रसाद खाने चलन रहेको जानकारी दिनुभयो। 

धौभडेलका अनुसार भीमसेनको पूजा गरेमा व्यापार व्यवसायमा वृद्धि हुने, घरमा सुख–शान्ति हुने, रोगबाट मुक्त हुने तथा घरमा शुभ हुने जनविश्वास रहेको प्रस्ट पार्नुभयो। 

यस दिन परम्परागत रूपमा टोखा, भीमसेनस्थानलगायतको भिं द्यः मन्दिरमा विशेष घुइँचो लाग्ने गर्छ। एकदशीका दिन बेलुका भिं द्यःको मूर्तिलाई विशेष आभूषणले सजाउने गरिन्छ। भिमा द्वादशीका दिन बिहानदेखि भक्तजनहरूको ठूलो घुइँचो लाग्ने गर्छ। दाफा भजन खलःहरूले विशेष भजनकीर्तनसमेत गर्ने गरिन्छ। 

ललितपुरमा रहेको भीमसेन मन्दिरमा पूजा परिक्रमा गरी प्राचीन नगरभित्रका सबै भीमसेनस्थान घुम्ने गरिन्छ। यसैगरी दक्षिण ललितपुर भेगका थेचो, चापागाउँ, सुनाकोठी, धापाखेल आदि बस्तीहरूमा देवपूजा अर्थात् कुलपूजा मनाउने गरिन्छ। ठेचो क्षेत्रमा कुलपूजा मात्र नभई माधवनारायण जात्रा पनि हुने गर्दछ भने पिङ्गल क्षेत्रबाट सुरु हुने यस जात्रामा सहस्रधारा बगाउने तथा शरीरमा बत्ती बालेर दीपदानसमेत गर्ने गरिन्छ।