• १० मंसिर २०८१, सोमबार

स्रष्टाको सम्मानले राष्ट्रको गरिमा बढ्छ : प्रधानमन्त्री प्रचण्ड

blog

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले नक्सालमा आयोजना गरेको गठबन्धन नामक चित्रकला तथा प्रतिकला प्रदर्शनी कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं, माघ १९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्रष्टाहरूको सम्मानले राष्ट्रको गरिमा र उचाइ बढ्ने बताउनुभएको छ । बिहीबार दिउँसो नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले नक्सालमा आयोजना गरेको गठबन्धन नामक चित्रकला तथा प्रतिकला प्रदर्शनी कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘ललितकलाको क्षेत्रमा नेपाललाई स्थापित गर्न तपाईँहरूले महत्त्वपूर्ण भूमिका खेल्नुभएको छ । देशभित्र मात्र होइन, विश्वभरि स्थापित गर्न तपाईँहरूले खेलेको भूमिका प्रशंसनीय छ ।’’


‘‘म पहिलो पटक प्रधानमन्त्री हुँदा ललितकला प्रतिष्ठान स्थापना गर्ने जग बसालेको थिएँ । अहिले स्थापनाको १२ वर्ष पुगेको छ,’’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘मलाई निकै खुसी र गर्वको महसुस भएको छ । अझ चित्रकला तथा प्रतिकलाका क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउनुभएका तपाईँ विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गर्न पाउँदा निकै खुसी छु, यसले राष्ट्रकै गरिमा र उचाइ बढाउँछ ।’’

सो अवसरमा प्रधानमन्त्रीले ललितकलाका क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्ने स्रष्टाहरू सम्मानित गर्नुका साथै ललितकलासम्बन्धी सिर्जनाहरूको अवलोकन गर्नुभएको थियो ।