• १३ साउन २०८१, आइतबार

रवि लामिछानेको सांसद पद खारेज भएको जानकारी संसदलाई

blog

रवि लामिछानेको सांसद पद खारेज भएको जानकारी सदनलाई गराउनुहुँदै प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे । तस्बिर : केशब गुरुङ

काठमाडौं, माघ १८ गते । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले रवि लामिछानेको सांसद पद खारेज भएको सूचना जानकारी गराउनुभएको छ । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख घिमिरेले सर्वोच्च अदालतबाट प्राप्त पत्रबारे  सदनलाई जानकारी गराउनुभएको हो ।

सभामुख घिमिरेले भन्नुभयो, ‘‘सर्वोच्च अदालतको पत्रको चलानी नम्बर २७४०६, मुद्दा नम्बर ०७९ डब्ल्यु सी ००३५ को मिति २०७९ माघ १५ गते, युवराज पौडेल निवेदक भई दायर भएको रिट निवेदनबाट प्रतिनिधिसभा सदस्य भएका रवि लामिछानेले अमेरिकी नागरिकता विधिवत् त्याग गरेपछि विधिवत् रूपमा नेपाली नागरिकता प्राप्त गर्न प्रक्रिया पूरा नगरिएको हुँदा निजले प्रतिनिधि सभाको सदस्य रहन देखिन उपयुक्त नदेखिएकोले चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवार हुन उपयुक्त नदेखिएकाले उम्मेदवार भई निर्वाचित भएको देखिएकाले निर्वाचित घोषणा गर्ने, प्रमाणपत्र दिने काम नेपालको संविधानको धारा ३३ को उपधारा २, ३ र धारा १३७ बमोजिम उत्प्रेषणको आदेशले बदर हुन्छ भन्ने निर्णय गरेकोले नेपालको संविधानको धारा ८९ को खण्ड (ख) बमोजिम प्रतिनिधि सभा सदस्य पद रिक्त रहेको कुरा प्रतिनिधिसभा नियमावली २०७५ नियम २१२ को उपनियम १ बमोजिम माननीय सदस्यहरूलाई जानकारी गराउँछु ।’’

यसैगरी, बैठकमा राष्ट्रिय मानव अधिकार आयोगको २२औँ वार्षिक प्रतिवेदन पेस भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आर्थिक वर्ष २०७८/२०७९ को प्रतिवेदन पेस गर्नुभएको हो ।

बैठकमा सभामुख देवराज घिमिरेले गृह मन्त्रालयको जिम्मेवारी प्रधानन्त्री प्रचण्डलाई नै तोकिएको सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पढेर सुनाउनुभयो । सभामुख घिमिरले चितवन क्षेत्र नं २ को सांसद पद रिक्त भएको ब्यहोरा बैठकमा जानकारी गराउनुभयो ।प्रतिनिधिसभाको अर्को बैठक यही माघ २२ गते आइतबार दिनको १ बजे बस्नेछ ।