• १२ मंसिर २०८१, बुधबार

छैटौं संस्करणको शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता शनिबारबाट

blog

काठमाडौं, माघ १८ गते । छैटौं संस्करणको शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता शनिवारबाट हुने भएको छ । आयोजकले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता माघ २१ देखि २४ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आयोजना हुने जनाकारी दिएको हो ।

प्रतियोगितामा साविकको विजेता नेपाल एपिएफ क्लवसँगै, न्यु डायमण्ड युथ स्पोर्टस क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश भलिबल सङ्घ र एभरेस्ट भलिबल क्लब गरी ६ टोलीले सहभागिता जनाउँदै छन् । सहभागी टोलीलाई आयोजकले दुई समूहमा विभाजन गरी लिगकम नकआउटका आधारमा सञ्चालन गर्ने जनाएको छ ।

पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगिताका विजेतालाई  तीन लाख रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । त्यस्तै, उपविजेताले एक लाख ५० हजार र तेस्रो हुने टोलीलाई ७५ हजार रुपियाँ पुरस्कार प्रदान गरिनेछ । यो पुरस्कार राशि अघिल्लो संस्करणको भन्दा बढी हो ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार रुपियाँका साथै अन्य आकर्षक पुरस्कार प्रदान गरिने प्रतिष्ठानले जानकारी दियो । यस्तै, व्यक्तिगत विधागततर्फ उत्कृष्ट हुनेलाई जनही १५ हजार र हरेक खेलको प्लेयर अफ दी म्याचलाई १० हजार रुपियाँ नगद पुरस्कार प्रदान गरिनेछ । यस्तै, प्रतियोगिताको इमर्जिङ खेलाडी एक जनाले १५ हजार रुपियाँ प्राप्त गर्नेछ ।

प्रतिष्ठानले प्रतियोगिताको उद्घाटनका अवसरमा एक जना राष्ट्रिय खेलाडीलाई नगद ५० हजार रुपियाँसहित स्पेसल अवार्डबाट सम्मानित गर्ने भएको छ । महिला भलिबल खेलाडीको सशक्तिकरण र क्षमता अभिवृद्धि गर्ने उद्देश्य अनुरुप शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले २०७२ देखि हरेक वर्ष राष्ट्रिय भलिबल प्रतियोगिता गर्दै आएको छ ।