सिराज खान
नेपालगञ्ज, माघ १८ गते । बाँकेको कोहपलुरमा श्रीमानले पेट्रोल खन्याएर आगो लगाएर जलाइएकी गङ्गा विकलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । भेरी अस्पतालमा उपचाररत विकको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि थप उपचारका लागि बर्न युनिट भएको अस्पतालमा आज बुधबार पठाइएको भेरी अस्पताल नेपालगञ्जका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट बद्री चापागाईंले बताउनुभयो ।
विकको अवस्था जटिल रहेकाले बढी सुविधा सम्पन्न अस्पतालमा राम्रो उपचार हुनसक्ने भन्दै काठमाडौं रेफर गरिएको उहाँको भनाइ छ । कोहलपुर नगरपालिका –२ शक्तिनगरमा बस्दैआएका भानुभक्त विकले तीन दिनअघि श्रीमती गंगा र २ वर्षीय छोरा प्रिन्सलाई पेट्रोल खन्याएर आगो लगाएका थिए ।
आगोले जलेर छोरा प्रिन्सको सोमबार उपचारको क्रममा मृत्यु भएको थियो । श्रीमति विकको उपचार भेरी अस्पतालमा भैरहेको थियो । उहाँको अवस्थामा सुधार नआउने देखिएपछि काठमाडौं पठाइएको अस्पतालले जनाएको छ ।
आगो लगाएर घरबाट भागेका भानुभक्तलाई प्रहरीले नाकाबाट पक्राउ गरेको थियो । प्रहरी नियन्त्रणमा रहेका विकले सामान्य घरझगडामा श्रीमती र छोरालाई आगो लगाएको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
विकलाई थप उपचारका लागि काठमाडौं पठाउन लुम्बिनी प्रदेशका मन्त्री कृष्णा केसी, बाँके क्षेत्र नम्बर १ का सङ्घीय सांसद सूर्य ढकाल र उपमेयर सुवेदीले पहल गर्नुभएको भेरी अस्पतालले जनाएको छ ।