• १६ चैत २०८०, शुक्रबार

पर्यटन प्रवर्धन गर्न तानसेनमा खाना महाेत्सव आयोजना हुने

blog

फाइल तस्बिर

बिन्दु थापा 

तानसेन, माघ १८ गते । पाल्पाको पर्यटकीय नगरी तानसेनमा खाना महाेत्सव हुनेभएको छ । तानसेन नगरपालिका –४ मखनटोलको आयोजनामा माघ  २० गते खाना महाेत्सव हुनेछ । 

संयोजक प्रविता शाक्यले कोरोना महामारीपछि गति लिन थालेको पाल्पाको पर्यटनलाई पुरानै अवस्थामा फर्काउन महाेत्सव आयोजना गरिएको बताउनुभयो । शाक्यले तानसेनको व्यापारमा केही राहत मिलोस् भन्ने उद्देश्यले महाेत्सव आयोजना गर्न लागिएको हो ।

महाेत्सवमा स्थानीय, स्वदेशी तथा विदेशी खानाको परिकार राखिने आयोजकले जनाएको छ । महाेत्सव स्थानीय कला, संस्कृति, भेषभूषाको जगेर्नामा केन्द्रित रहने बताइएको छ । यो संस्करणको मुख्य आकर्षणमा विभिन्न जातजाति, आमा समूह लगायत अन्य सङ्घ संस्थाको पोशाक तथा कला प्रदर्शन, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहने तानसेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले बताउनुभयो । 

महाेत्सवमा विभिन्न जातजातिको खानाका परिकारको ७० स्टल राखिने तानसेन नगरपालिका –४ का अध्यक्ष हेमन्तराज शाक्यले जानकारी दिनुभयो । एक स्टलको १५ सय रुपियाँ शुल्क लाग्नेछ । सडक किनारमा पर्यटक बसेर परिकारमा रमाउने व्यवस्था गरिने आयोजकको भनाइ छ । 

कोरोना महामारी अन्त्य भएपछि पाल्पामा स्वदेशीसहित विदेशी पर्यटक पनि आउनथालेको भन्दै उहाँले महाेत्सवले पर्यटन प्रवर्धनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा राम्रो सन्देश प्रवाह गर्ने बताउनुभयो ।

महाेत्सवमा ८ हजारसम्म दर्शक आउने र ३० लाख रुपियाँभन्दा बढीको कारोबार हुने आयोजकको अनुमान रहेको मखनटोल विकास संस्थाका सचिव ज्ञानु कार्कीले जानकारी दिनुभयो । मखन टोल विकास संस्था र तानपा –४ को आयोजना तथा तानसेन नगरपालिकाको सहयोगमा महाेत्सव सम्पन्न गर्न तीन लाख रुपियाँभन्दा बढी खर्च लाग्ने कार्कीले जानकारी दिनुभयो ।