• १३ असोज २०८१, आइतबार

महिला सहभागितामा राजनीतिक दलको बेवास्ता : पूर्वअध्यक्ष शाक्य

blog

राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक । फाइल तस्बिर

काठमाडौं, माघ १८ गते । नेपाल कानुन समाजका पूर्व अध्यक्ष तीर्थमान शाक्यले राजनीतिक दलले महिलाको सहभागिता पुरुषसरह नै बनाउने कुरालाई बेवास्ता गरेको आरोप लगाउनुभएको छ ।

बुधबार राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्नुहुँदै उहाँले राजनीतिक दलहरुले महिला सहभागितालाई हेलचेक्र्याँइ गरिरहेको आरोप लगाउनुभएको हो ।

पूर्व अध्यक्ष शाक्यले राजनीतिक दलले हरेक क्षेत्रमा महिलाको सहभागितालाई घटाउँदै लगिरहेको धारणा राख्नुभयो । उहाँले महिलाई हरेक क्षेत्रमा रहेर बुझ्ने अधिकार नै प्रदान नगरिएको भन्दै महिलालाई बुझ्ने स्थानमा लैजान अभिमुखीकरण कार्यक्रमलाई अगाडि बढाउन जरुरी रहेको बताउनुभयो ।

‘‘एक तिहाइ महिला कम्तीमा भनेको हुनाले एक वर्ष यति, अर्को वर्ष यति भनिरहनै पर्दैन, बाइ प्राक्टिस नै अघि बढाउँदै जानुपर्छ । ५० प्रतिशत नै बराबर बनाउनुपर्छ । कानुन छ, राजनीतिक दलले बुझेको छ, तर नबुझेको महिला स्वयं छन्, अरुले बुझिबुझी बुझ पचाएको हो, महिलाहरुलाई बुझ्ने अवसर नै दिइएको छैन ।,’’ उहाँले भन्नुभयो, ‘‘कतिले भन्छ पाउँदै पाउँदैन । महिलालाई यही विषयमा अभिमुखीकरण कार्यक्रमा सिरिजमा गर्नुपर्छ । हामीले महिलालाई अभिमुखीकरण गर्नुपर्छ ।’’

यसैगरी, उहाँले महिलालाई स्थान दिने बेलामा राजनीतिक दलहरु पात्र नै उपयुक्त नभएको जस्ता तर्कहरु गरेर पन्छिने गरेको भन्दै संविधानले व्यवस्था गरेपछि राजनीतिक दलहरुले सो क्षेत्रका लागि उपयुक्त पात्र तयार गरेर भए पनि संविधानअनुसार चल्नुपर्ने भनाइ राख्नुभयो । 

पूर्वअध्यक्ष शाक्यले प्रतिनिधि सभा सदस्य उम्मेदवार बन्न योग्य समय घटाउने मात्रै नभइ बन्न पाउने अधिकतम उमेरको बारेमा पनि छलफल हुन आवश्यक रहेको बताउनुभयो ।