• ८ वैशाख २०८१, शनिबार

तीन सय वर्ष पुरानो मोहन्याल जात्रा सम्पन्न

blog

सिमसार क्षेत्र घोडाघोडी परिसरमा रहेको मोहन्याल मन्दिरको मौलोमाथि नाच्दै मुख्य धामी (झाक्री) । तस्बिर : चाँदनी आचार्य

चाँदनी आचार्य

घोडाघोडी (कैलाली), माघ १८ गते । जैविक विविधताले महत्पूर्ण घोडाघोडी सिमसार क्षेत्र प्राकृतिक पर्यटकीय सँगसँगै धार्मिक पर्यटनको रुपमा पनि महत्वपूर्ण छ । बुधबार घोडाघोडी सिमसार क्षेत्रमा रहेको मोहन्याल मन्दीरमा मोहन्याल जात्रा तथा पूजा कार्यक्रम भब्यरुपमा सम्पन्न भएको छ ।

विशेष गरेर सुदूरपश्चिमको डोटीबाट यो जात्रा तथा पूजा शुरु भए पनि अहिले विभिन्न क्षेत्रबाट बसाइसराइ गरी तराई झरेकाहरुले मन्दिरमा जात्रा मनाउन तथा पूजा गर्नका लागि अघिल्लो दिनमै आउने गर्दछन् । वर्षमा दुई पटक एकादशीका दिन मोहन्याल पूजा हुने गर्दछ ।

प्राध्यापक डा. दीपकराज जोशीले डोटीको कठिउरमा मङ्सिर महिनामा पहिलो पटक र दोस्रो पटक घोडाघोडीमा जात्रा तथा पूजा हुनेगरेको बताउनुभयो । प्रा.डा. जोशीका अनुसार करिब तीन सय वर्ष पहिले कठिउरका बम थरका व्यक्तिलाई सपना भई मोहन्याल देवताको स्थापना गरी पुजारी, धामी राखेर पूजा गरे जगतको कल्याण हुने सन्देश दिएपछि यो जात्रा तथा पूजा शुरु भएको बताइन्छ । ताडी थरका व्यक्ति धामी र जोशीहरु पुजारी रहने चलन अहिले पनि कायमै छ ।

शुरुमा डोटीको कठिउरमा त्यस क्षेत्रका मानिसले मान्दैआएको मोहन्याल जात्राले अहिले वृहत्तर रुप लिंदै गएकोछ । प्रा.डा. ले भन्नुभयो, “अहिले पनि कठिउरमा अछाम, डोटीलगायत आसपासका सबै मानिस जम्मा भएर मोहन्याल जात्रामा डेउडा खेल लगाउने पुजा गर्ने चलन व्यापक बन्दैगएको छ । तराईतिर झरेका त्यस क्षेत्रका मानिसहरुले घोडाघोडीमा मोहन्यालको मन्दिर स्थापना गरेर पूजा गर्न थालेपछि यता पनि यसको महत्व बढ्दैगएको हो ।’

घोडाघोडीमा मोहन्याल जात्रा तथा पूजा २०६१ बाट शुरु भएको हो । एकादशीका दिन हुने पूजाको अघिल्लो दशमीको रात पूजास्थलमा डेउडा खेल लगाउनुका साथै १०–१५ जना धामी आगोको वरिपरि नाच्ने गर्दछन् । रातभर जाग्ग्राम बसेर भोलिपल्ट बिहानै नुहाई धुवाई गरेपश्चात् पुूजा गरिन्छ । पूजा हुनुपूर्व मोहन्याल मन्दिरमा धामी बस्ने चलन छ । वर्षभरिको राम्रो नराम्रो सबै कुरा धामीले भन्ने जनविश्वास छ । 

मोहन्याल जात्रा विशेष गरेर शिवकै एउटा स्वरुप रहेको र शिवशक्तिका रुपमा विशेष दिन पारेर पूजा गरिदैआएको मन्दीरका पुजारी बुद्धिप्रसाद जोशीले बताउनुभयो । मोहन्याल जात्राको अवसरमा २०७४ देखि स्थानीय बिदा दिने गरिएको छ ।

घोडाघोडी सिमसार क्षेत्रमा ल्वाङ्गीपूजा, माघेसङ्क्रान्ति मेला, शिवरात्रि मेलालगायतका धार्मिक पर्व तथा मेला हुँदैआएका छन् । यहाँको प्राकृतिक सिमसार क्षेत्र घोडाघोडी तालको महत्वसँगै धार्मिक पर्यटनको समेत महत्व बढ्दैगएको समाजसेवी पूर्णराज जोशीले बताउनुभयो । यहाँ रहेका विभिन्न मठ मन्दिरमा श्रदापूर्वक मनको इच्छा राखेमा मनोकांक्षा पूरा हुने जनविश्वास छ । 

दैनिक पूर्व–पश्चिम राजमार्ग भएर ओहोरदोहोर गर्ने आन्तरिक तथा भारतीय धार्मिक पर्यटकले मन्दिरको दर्शन गरेर जानेगरेको घोडाघोडी मन्दिर प्रतिष्ठानका शङ्कर संज्यालले बताउनुभयो ।