• १२ मंसिर २०८१, बुधबार

विकास निर्माणमा ऐक्यबद्धता

blog

कोहलपुुर समाचारदाता

कोहलपुर, माघ १८ गते । बाँकेबाट निर्वाचित प्रतिनिधि तथा प्रदेश सभा सदस्यले जिल्लाको समग्र विकासका लागि ऐक्यबद्धता जनाएका छन्। उनीहरूले एकआपसमा सहकार्य गर्दै बाँकेको समग्र विकासका लागि साझा सङ्कल्प तयार पार्न ऐक्यबद्धता जनाएका हुन्। 

कोहलपुर नगरपालिकाले बाँके जिल्लाबाट प्रतिनिधि सभा तथा प्रदेश सभामा निर्वाचित सदस्यहरूलाई बधाई ज्ञापन गर्न आयोजित कार्यक्रममा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य सूर्य ढकालले कोहलपुरसहित बाँकेको विकासका लागि राजनीतिभन्दा माथि उठेर काम गर्ने विश्वास दिलाउनुभयो। कोहलपुर क्रिकेट मैदान निर्माण, चपरगौरी निबुवा खड्कवार हुँदै घुइँयाबारी सडक निर्माण र कोहलपुरलाई शैक्षिक ‘हब’ बनाउने योजनालाई अघि सारिएको प्रतिनिधि सभा सदस्य ढकालले बताउनुभयो। 

प्रतिनिधि सभा सदस्य आशा विकले विकासका लागि बाँकेबाट निर्वाचित सांसद एक हुनु पर्ने बताउँदै आफूहरू त्यहीअनुसार अगाडि बढेको बताउनुभयो। 

बाँके क्षेत्र–१ (ख)बाट प्रदेश सभामा निर्वाचित प्रदेश सभा सदस्य दुर्गाप्रसाद चौधरीले कोहलपुरको विकासका लागि सबै जनप्रतिनिधि एक हुन आवश्यक रहेको बताउनुभयो। क्षेत्र ३ (क)बाट प्रदेश सभामा निर्वाचित प्रदेश सभा सदस्य बाद शाह कुर्मीले कोहलपुर नगरपालिका लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मुटुका रूपमा रहेकाले यसको विकासका लागि सबैको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। 

बाँके क्षेत्र ३ (ख)बाट प्रदेश सभामा निर्वाचित प्रदेश सभा सदस्य रत्न खत्रीलगायत वसन्ती अधिकारी, सन्जुकुमारी थारू, माया पुन, सुशीला बादी र मीनाकुमारी बोहरा सिद्दिकीले कोहलपुरसहित बाँकेको समग्र विकासका लागि ऐक्यबद्वता जनाउनुभएको छ।