• १२ मंसिर २०८१, बुधबार

सडक विस्तारमा विलम्ब

blog

परासी समाचारदाता

नवलपरासी, माघ १८ गते । अर्थ मन्त्रालयबाट बजेट विनियोजन नहुँदा पश्चिम नवलपरासीको महेशपुर भन्सार नाकादेखि पूर्व–पश्चिम राजमार्गको सुनवलसम्मको सडकखण्ड विस्तारको काम समयमा सुरु हुन सकेको छैन। 

महेशपुर भन्सारदेखि सुनवलसम्मको चार लेनको बाटो विस्तारका लागि तीन वर्षपहिला नै सडक विस्तारको डीपीआर तयार पारी अर्थ मन्त्रालय पठाइएको भए पनि अर्थबाट स्वीकृत भइनसकेका कारण सडक विस्तारको कामले गति लिन नसकेको सडक डिभिजन कार्यालय बुटवलका प्रमुख होमबहादुर एसीले बताउनुभयो।

महेशपुरदेखि महेशपुर बजार, परासी हुँदै पूर्व–पश्चिम राजमार्गको सुनवलसम्मको २७ किलोमिटर सडकलाई व्यापारिक मार्गका रूपमा विस्तार गर्न लागेको हो। महेशपुरको दसगजादेखि महेशपुर भन्सार कार्यालयसम्मको ३३५ मिटर लम्बाइमा सडक विस्तारको काम चलिरहेको छ। महेशपुरदेखि सुनवलसम्म सडक विस्तारको काम अर्थ मन्त्रालयमा प्रतीक्षा सूचीमा रहेको बताइएको छ। 

भारतीय सिमानादेखि सुनवलसम्मको २७ किलोमिटर लम्बाइको यो सडक विस्तारको अभावमा महेशपुर भन्सार कार्यालयले पनि पूर्ण क्षमतामा काम गर्न पाएको छैन। विस्तार गर्न लागिएको सडकको दुवैतर्फ फुटपाथ, नालासहितको चार लेनको सडक विस्तार गर्न नेपाल सरकारले पाँच करोड लागतको योजना पास गरेको थियो। यस सडकको परासी खण्डमा परासीको बुद्ध चोकदेखि सुनवलतर्फको करिब पाँच सय मिटरको लम्बाइमा सहरी सडक विकास कार्यक्रमअन्तर्गत सडक विस्तारको काम भइसकेको छ। 

महेशपुर भन्सार नाकादेखि पूर्व–पश्चिम राजमार्गसम्म जोड्ने सडकको अभावमा नवलपरासीको महेशपुर भन्सार मूल भन्सारका रूपमा स्तरोन्नति गरिएको पाँच वर्ष हुन लाग्दा पनि पूर्ण क्षमतामा सञ्चालनमा आएको छैन।

यही भन्सारलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने उद्देश्यले महेशपुरको भन्सारदेखि चोकदेखि पूर्व–पश्चिम राजमार्गको सुनवलसम्मको सडक विस्तारको काम गर्न लागिएको हो। महेशपुर भन्सार नाकादेखि परासी हुँदै सुनवलसम्मको सडक सानो र पुलहरू जीर्ण अवस्थामा रहेका कारण महेशपुर भन्सार कार्यालयले प्रभावकारी रूपमा काम गर्न नसकेको लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ जैसवालले बताउनुभयो।