• ११ मंसिर २०८१, मङ्गलबार

सीमावर्ती क्षेत्रमा शृङ्खलाबद्ध चोरी

blog

धनगढी समाचारदाता

धनगढी, माघ १८ गते । कैलालीको धनगढी उपमहानगरपालिकास्थित फूलबारी क्षेत्रमा शृङ्खलाबद्ध रूपमा चोरीको घटना बढेको छ। वडा नम्बर १४, १८ र १९ को सीमावर्ती क्षेत्रमा चोरीको घटना घट्दै गएको हो। सो क्षेत्रमा १८ किलोमिटर नेपाल–भारत खुला सिमाना रहेको छ। 

खुला सिमानाका कारण नेपाल–भारत दुवैतर्फका चोरी, डकैतीमा संलग्न व्यक्तिले मिलेर यस्तो घटना गराएको स्थानीयको आशङ्का छ। 

वडा नम्बर १८ का गोपाल बस्नेतको पसलमा सोमबार  चोरी भएको छ। पसलबाट तीन लाख नगदसहित केही सामान चोरी भएको बताइन्छ। वडा नम्बर १८ का वडा अध्यक्ष भुवन रिजालका अनुसार पसल, घर फुटाएरै चोरी भएको छ। केही दिनअघि दुईवटा सहकारी कार्यालयबाट नगद र केही सामानसहित चोरी भएको थियो।

वडा अध्यक्ष रिजालका अनुसार धेरैजसो चोरी घरको पर्खालै फुटाएर भइरहेको छ। नियमित चोरी, लुटपाट हुन थालेपछि यो क्षेत्रमा सुरक्षाको विषय अलि गम्भीर बनेको छ। चोरले नगद, सुनचाँदीका गरगहना चोर्ने गरेको बताइएको छ। पानी तान्ने मोटर चोरीको घटना त दिनदिनै भइरहेका छन्। डिपो बजार, २५ घर र ए गाउँको आदर्श बजारमा चोरीको घटना बढी भएको बताइन्छ।