सर्लाही समाचारदाता
सर्लाही, माघ १८ गते । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले घरदैलोमार्फत भूमिहीनको तथ्याङ्क सङ्कलन गरिरहेको छ। भूमिहीनको यकिन तथ्याङ्क सङ्कलन गर्न पालिकाबाटै घरदैलो अभियान सुरु गरिएको हो।
जिल्लाको दक्षिण–पूर्वी भेगस्थित ग्रामीण क्षेत्रमा रहेको यस गाउँपालिकाले अधिकांश बस्ती शिक्षा र चेतनामा पछाडि परेकाले घरदैलोमार्फत नै तथ्याङ्क सङ्कलन सुरु गरेको गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले जानकारी दिनुभयो।
घरदैलो गरी तथ्याङ्क सङ्कलन गर्दा कोही नछुट्ने तथा कसैले गलत गर्न पनि नसक्ने गाउँपालिकाको दाबी छ। सातवटै वडामा तथ्याङ्क सङ्कलन भएपछि भूमिहीनलाई जग्गा बाँड्ने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष महतोको भनाइ छ। उहाँका अनुसार वडा नं. २ बबरगञ्जबाट सुरु भएको लगत सङ्कलनको काम अहिले सातवटै वडाको प्रत्येक टोलमा जारी छ। एउटा वडाको कम्तीमा पाँच ठाउँमा टोली पुगेर भूमिहीनको तथ्याङ्क लिने गाउँपालिका अध्यक्ष महतोले बताउनुभयो।
सर्लाहीमा राष्ट्रिय भूमि आयोगले बागमती, हरिवन, ईश्वरपुर, लालबन्दी, बरहथवा, हरिपुर र कविलासी नगरपालिका तथा चन्द्रनगर गाउँपालिकासँग सम्झौता गरी काम गरिरहेको छ। अन्य पालिकामा वडाबाटै लगत सङ्कलनको काम भइरहे पनि चन्द्रनगर गाउँपालिकाले भने घरदैलोमै गएर तथ्याङ्क लिने काम गरिरहेको हो।
गाउँपालिका अध्यक्ष महतोले भन्नुभयो, “भूमिहीनको सङ्कलित नाम अनुसार यसै वर्षदेखि जग्गा बाँड्ने योजना बनाएका छौँ।” भूमिहीनले आफ्नो गाउँ बस्तीमै आएर लगत सङ्कलनका काम हुँदा सहज भएको बताएका छन्।
चन्द्रनगर गाउँपालिका–२, मुसहर बस्तीकी अकलीदेवी माझीले बस्तीमै आएर विवरण लिँदा जग्गा पाउने आस जागेको बताउनुभयो।” माझीले भन्नुभयो, “ऐलानी जग्गामा बस्दै आएका छौँ, अब यो जग्गाको लालपूर्जा बन्छ भन्ने आस लागेको छ।’’
राष्ट्रिय भूमि आयोग सर्लाहीले जिल्लाका छवटा पालिकामा भूमिको लगत सङ्कलन र जग्गा नाप्ने काम गरिरहेको आयोगका सर्लाही जिल्ला प्रवक्ता मदनबहादुर विश्वकर्माले जानकारी दिनुभयो। भूमि आयोगका जिल्ला प्रवक्ता विश्वकर्माले भन्नुभयो, “योभन्दा अगाडि पनि धेरै पटक विवरण लिने काम मात्रै भएकाले भूमिहीनले जग्गा पाउने कुरा पत्याउनुभएको छैन।”