• ११ मंसिर २०८१, मङ्गलबार

तालमा माछा ठेक्का

blog

माछापालन गरिएको रखौना ताल वरिपरि सुकेका रुख । तस्बिर : अविनाश चौधरी

धनगढी समाचारदाता

धनगढी, माघ १७ गते । कैलालीको वसन्ता वन क्षेत्रमा व्यावसायिक माछापालन गरिएको छ । प्राकृतिक तालमा माछापालनसँगै मानवीय गतिविधि बढ्दै जाँदा ताल वरिपरिका रुख सुक्न थालेका छन् । 

वसन्ता वनभित्र थुप्रै प्राकृतिक ताल छन् । प्रायः सबै ताललाई माछापालनका लागि ठेक्कामा दिइएको छ । स्थानीय तहका लागि राजस्व आम्दानीको स्रोत बनेका ती प्राकृतिक तालमा व्यावसायिक रूपमा माछापालन भइरहेको छ । प्राकृतिक ताललाई ठेकेदारले आफूखुसी दोहन गर्दा ताल वरिपरिका रुख सुकेको संरक्षणकर्मीको भनाइ छ । कैलारी गाउँपालिका–५ स्थित बैजपुरस्थित रखौना, घोडाघोडी नगरपालिका–१२ स्थित तलबेलुवा, रत्ताही, भजनी नगरपालिका–९ स्थित घोडताल वरिपरि रहेका साल र अस्ना प्रजातिका रुख सुक्दै गएको छ ।

पानी जम्ने कतिपय स्थानमा बिस्तारै रुख सुक्दै जाने गरे पनि माछापालन गरिएका ताल वरिपरिका रुख सुक्नुको कारण प्राकृतिक तालको अव्यवस्थित दोहन रहेको बताइन्छ । माछा ठेकेदारले डोजर प्रयोग गरेर तालको गहिराइ बढाउने र कहिले पानी सुकाउने गर्दा नै वरपरका रुख सुकेको संरक्षणकर्मी एवं चराविद् हिरुलाल डङ्गौराले बताउनुभयो ।

माछा पाल्ने व्यक्तिले कुनै बेला धेरै पानी राख्ने, कुनै बेला पूरै सुकाउने गरेका कारण पानीको सन्तुलन बिग्रेर रुख सुकेको उहाँको बुझाइ छ । उहाँले भन्नुभयो, “यसरी केही ताल वरिपरि अलि बढी नै रुख सुकेको देखिएको छ तर थोरथोरै प्रायः सबै तालमा रुख सुकेका छन् ।”

साल र अस्ना प्रजातिको रुखको आयु लामो हुने गर्छ । यी प्रजातिका रुख धेरै वर्षसम्म बाँच्ने गर्छन् । तर, धेरै पानी जमेमा वा बोक्रा छुटाइएमा बिस्तारै सुक्ने गरेको डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख गोकुलप्रसाद रिजालले बताउनुभयो । उहाँले पछिल्लो समय बोक्रा काटेर रुख सुकाउने क्रम बढेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “बोक्रा काटेपछि रुख बिस्तारै सुक्दै जान्छ । अहिले यसरी नै रुख सुकाउने क्रम बढ्दो छ ।”

यसैगरी रुख वरिपरि अस्वाभाविक तरिकाले उत्खनन गर्ने कारणले पनि साल र अस्नाका रुख सुक्ने गरेको रिजालको भनाइ छ । घोडाघोडी ताल क्षेत्र, पहलमानपुरको चमरहिया क्षेत्रलगायत विभिन्न बस्ती आसपासका रुख बोक्रा काटेर सुकाइएका छन् । बोक्रा काटेर रुख सुकाउने कार्य अतिक्रमणको नयाँ शैली बनेको र मन्द विषसरह फैलिरहेको डङ्गौराले बताउनुभयो । उहाँले भन्नुभयो, “बोक्रा काट्दा अतिक्रमण भएको देखिँदैन  तर केही दिनपछि रुख नै सुक्ने गर्छ ।”